बर्दिया — स्थानीय प्रशासनले जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि पहिलो पटक वैशाख १३ गतेदेखि १९ गतेसम्म निषधाज्ञा गरिएको थियो ।
दोस्रो पटक २० गते देखि ३१ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको थियो । चौथो पटक निषेधाज्ञा बढाइए पनि कोरोना संक्रमित भने घटेका छैनन् । पहिलो पटक कोरोना संक्रमण २ सय ८५ पुग्दा वैशाख १३ गतेबाट निषेधाज्ञा जारी भएको थियो । हाल संक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६ सय २७ जना पुगेको छ । तीमध्ये होम आइसोलेशनमा १ हजार ५ सय २५ र विभिन्न अस्पतालमा १ सय २ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अवधिमा कोरोना संक्रमणबाट ८३ जनोको मृत्यु भएको छ ।
निषेधाज्ञा खुकुलो र पीसीआर,एन्टिजेनबाट कोरोना परीक्षण निकै कम भएका कारण संक्रमितको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले निषेधाज्ञामा कोरोना संक्रमित बढेको बताए । केही दिनमै कोरोना संक्रमण घट्दै जाने विश्वास रहेको उनले जनाए ।
खुला सीमानाबाट आवतजावत नरोकिएकोले जोखिम बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गर्दे निषेधाज्ञालाई कडाइका साथ लैजाने भएको छ । खाद्यान्न,फलफूल र दैनिक उपभोग्य बस्तुका पसल बिहान ६ देखि ९ बजेसम्म खुला रहने छ । अत्यावश्यक सेवामा कुनै रोकटोक भने छैन ।
