व्यवस्थापनमा सकस खेप्दै गोरखा अस्पताल

जेष्ठ १०, २०७८

हरिराम उप्रेती

गोरखा — संक्रमण तीव्र फैलिरहेको बेला जिल्ला अस्पताल ठाउँ अभावमा अल्झिएको छ । ६ वर्षअघिको भूकम्पले क्षति पुर्‍याएको भवन पुनर्निर्माणले पूर्णता नपाउँदा अस्पताल हाल आवासगृहको भवनबाट सञ्चालनमा छ ।

ठाउँ अभावको प्रत्यक्ष समस्यामा कोभिडका बिरामी परेका छन् । ५० शय्याको अस्पतालमा बेड अभाव भएपछि गत मंगलबार टेन्ट र बेन्चमा बिरामीलाई अक्सिजन दिएर राखियो ।

अस्पतालमा ठाउँ व्यवस्थापन गर्न नसक्दा गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ बेडको एचडीयू (हाई डिपेन्डेन्सी युनिट) ३ महिनादेखि स्टोरमा थन्किएको थियो । कोभिडका बिरामी बढेसँगै पाटेचौरस्थित खाद्य संस्थानको स्टोरमा थन्किएको एचडीयूको जडान बल्ल सुरु भएको छ । झन्डै एक करोड २५ लाख रुपैयाँको एचडीयू र अन्य उपकरण ३ महिना अघि प्राप्त भएको थियो । ठाउँ अभावमा एचडीयू जडान गर्न नसकिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

‘क्यान्टिन भनेर बनाएको भवन लगभग पूरा भएको छ,’ ढकालले भने, ‘त्यसैमा जति अट्छ त्यति एचडीयू जडान सुरु गरेका छौं ।’ आइतबारसम्म क्यान्टिन ब्लकमा १२ वटा एचडीयू बेड जडान भएको उनले बताए । ‘तत्काल १८ बेड राख्ने योजना हो,’ उनले भने । २५ मध्ये बाँकी बेड राख्न भने अझै ठाउँ अभाव छ । ‘तत्काल व्यवस्थापन गरिए पनि नयाँ भवन हस्तान्तरण नभएसम्म ठाउँ पर्याप्त छैन,’ ढकालले भने । हाल अस्पतालको आवास भवनमा १४ बेड क्षमताको आइसोलेसन सञ्चालनमा छन् । ४ कोरोना संक्रमित उपचाररत छन् ।

भूकम्पले भत्काएको गोरखा अस्पतालको भवन २०७५ चैतबाट पुनर्निर्माण थालिएको थियो । लुम्बिनी विल्डर्सले जिम्मा लिएकोमा यतिबेला भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गत माघमा नै काम सक्ने लक्ष्य लिए पनि भवनले पूर्णता पाएको छैन । यही जेठभित्र निर्माण सक्ने ठेकेदार कम्पनीका प्रतिनिधि रामप्रसाद अधिकारीले बताए । ३७ करोड रुपैयाँको लागतमा तीनतले भवन बन्न लागेको हो । जर्मनको के एफ डब्लू नामक संस्थाले स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरि भवन निर्माण गरेको हो ।

कोभिड महामारीको व्यवस्थापनमा निकै सकस रहेको गोरखा अस्पतालले बताउँदै आएको छ । ७ बेडको आइसोलेसन अपुग भएपछि ५ बेड थपिएको छ । ‘अक्सिजन प्लान्ट जडान भएमा एचडीयू सञ्चालनमा पनि सहज हुन्छ,’ ढकालले भने, ‘अक्सिजन प्लान्ट पनि जोडिसकेका छौं । अब केही दिनमा सञ्चालनमा आउँछ ।’

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully