म्याग्दी — जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा जारी निषेधाज्ञाको समीक्षा गर्दै सहर, बजारमा भन्दा ग्रामीण भेगमा निषेधाज्ञा पालना नभएको ठहर पनि गरेको छ ।
बैठकमा रघुगंगा गाउँपालिका–४ दग्नाममा कोरोना संक्रमण फैलिएपछि अनुगमन गर्न गएको गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक र प्रहरी सम्मिलित टोलीमाथि मदिरा सेवन गरेका युवाले आक्रमण प्रयास गरेको थियो । ५० जना बढी संक्रमित रहेको दग्नामका ९० प्रतिशत बढी युवा छन ।
‘संक्रमणको संख्या बढे पनि अनुपात घट्दै गएकोले चेनब्रेक भएको ठानेका छौं । निषेधाज्ञा पालना भएको बेनीसमेत बजार क्षेत्रमा संक्रमण ह्वात्तै घटेको छ तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुने बस्तीमा संक्रमण नरोकिएकोले निषेधाज्ञा थप्नुपरेको हो’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘सँधै निषेधाज्ञा विकल्प होइन तर संक्रमणको चेनब्रेक गर्नैपर्ने भएकोले थप एक साता कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने भएको हो ।’
बैठकले समाजका अगुवा शिक्षक, युवा क्लबका अगुवा, पढेलेखेका र पहुँचवाला व्यक्तिले नै कोरोना असावधानी गरिरहेकोले कोरोना संक्रमण रोकथाम प्रभावकारी बनाउन अझै एक साता घर–घर र बस्ती–बस्तीपूर्ण विच्छेद गर्नुपर्ने निर्णय भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणको अनुपात घट्दै गएको छ । सुरुमा संकलित नमुनाको पीसीआर रिपोर्ट ७६ प्रतिशतसम्म पोजिटिभ आउने गरेकोमा अहिले घटेर ५० प्रतिशतमा झरेको छ । ‘निषेधाज्ञाले संक्रमणको फैलावटको तीव्रतामा ब्रेक गरेको छ ।
