बुटवल कोरोना विशेष अस्पतालमा ३६ बेडसहितको एचडीयू सञ्चालनमा आयो

वैशाख १८, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा ३६ बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालन भएको छ । 

अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेसनलाई एचडीयूमा परिणत गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अक्सिजन र बेड अभावमा बिरामीको मृत्युदर बढेकाले सामान्य आइसोलेसन बेडमा अक्सिजन जोडेर शनिबारदेखि एचडीयू सेवा सुरु गरेको बताए । यस अस्पतालमा एचडीयू बेड थप गर्न यसै साता लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो । तत्काल कोरोना पोजिटिभ भए पनि अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा बसेर उपचार गराएका बिरामीलाई धागो कारखानास्थित एचडीयूमा स्थानान्तरण गर्ने खनालले बताए ।

यसअघि यस अस्पतालमा १६ बेड आईसीयू, ३ एचडीयू र ३६ बेड सामान्य आइसोलेसन रहेको थियो । अस्पतालमा रुपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी र अर्घाखाँचीका बिरामी उपचारका लागि आउने गरेका छन् । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully