बाँकेमा एकैदिन ७७ जना संक्रमित डिस्चार्ज 

भाद्र २४, २०७७

रुपा गहतराज

बाँके — बाँकेबाट बुधबार ७७ जना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरमा कार्यरत नेपाली सेनाका ५१ जना, भेरी अस्पतालमा कार्यरत एक डाक्टर र दुई नर्स, नेपाल टेलिकमका ८ कर्मचारी र अन्य स्थानीय गरी ७७ जना डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा बस्दै आएका ब्यक्तिहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि १४ दिनमा डिस्चार्ज गरिएको श्रेष्ठले बताए  ।

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विभिन्न आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

बाँकेमा अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितहरुले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९सय १५ पुगेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ भने तीन सय ५४ जना आइसोलेसनमा उपचारमा छन् । जसमा ५ जना बाहिरी जिल्लाका छन् ।

बाँकेमा कोरोना सक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ  । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully