सन्देशमूलक गीत गाएर अस्पतालमै मनाए नर्सले तीज

भाद्र ५, २०७७

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका नर्सले अस्पतालमै तीज मनाएका छन् । उनीहरुले कोरोनाबाट बच्ने सन्देशमूलक गीत गाउँदै तीज मनाएका हुन् ।

कोरोना महामारीमा दिनरात जनताको उपचारमा खटिएका नर्सले चाडपर्वमा पनि जनतालाई सचेत गराउने गरी तीज गीत गाएर महामारीविरुद्ध सन्देश छरेको अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले बताइन् ।

उनले कोरोनाभाइरस संक्रमण बढ्दै गएकोले घरमै बसेर  तीज पर्व मनाउन आग्रह गर्दै अस्पतालबाटै ड्युटीमा खटिएका नर्सले गीत गाएर कोरोनाबाट बच्ने सन्देश दिइएको बताइन् । गीतमा संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिने, बिनाकाम बाहिर ननिस्कने, घरभित्रै बस्ने, मनोबल उच्च राख्ने, साबुनपानीले हात धुने, पौष्टिक आहार खाने जस्ता सन्देश समेटिएको थियो ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले नर्सहरूलाई जनचेतनामूलक गीत गाउन निर्देशन दिएका थिए ।सोही आग्रहबमोजिम नर्सले गीत गाएर रेकर्ड गरिएको भिडियो सामाजिक विकास मन्त्रालयले बिहीबारको कोरोना लाइभ अपडेट प्रेस मिटबाट प्रसारणसमेत गरेको थियो ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully