कपिलवस्तुमा थपिए २६ जना कोरोना संक्रमित

भाद्र २, २०७७

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा मंगलबार २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमितहरु कपिलवस्तु नगरपालिकाका २५ र एक जना वाणगंगा नगरपालिकाका हुन् । कपिलवस्तु नगरपालिकाका विद्यार्थी ५ जना, गृहणी ५, प्रहरी दुई र शिक्षक एक जना छन् । कपिलवस्तु नगरपालिका–२ सागरटोलमा रहेको चन्द्रघण्ट दुर्गा मन्दिरको पुजारी पनि संक्रमित भएका छन् । 

त्यस्तै एम्बुलेन्स ड्राइभर, कोल्ड स्टोर र कस्मेटिक पसल सञ्चालक लगायत छन् । मेडिकल सञ्चालक र हार्डवेयर पसले पनि संक्रमित भएका छन् । ४ वर्षीय बालकदेखि ७३ वर्षीया वृद्धासम्म संक्रमित भएका छन् । १ सय ५१ जनाको स्वाब परीक्षण हुँदा २६ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । यी सबै कन्ट्याक्ट ट्रेसिङबाट आएको स्वाब संकलन गर्दा संक्रमित भएको भेटिएका हुन् । 

तौलिहवा बजार क्षेत्रमा कोरोना संक्रमितको संख्या सय बढी पुगेको छ । त्यस्तै वाणगंगा नगरपालिकामा थपिएका वाड नम्बर १ का गल्ला व्यापारी हुन् । जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ७२ पुगेको छ । सक्रिय केस १ सय ७० रहेको छ । २ जनाको मृत्यु भएको छ । संक्रमण फैलिएपछि भदौ ७ गतेसम्म जिल्ला लकडाउन गरिएको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully