रौतहट — रौतहटमा मंगलबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाडौंको रिपोर्ट अनुसार रौतहटमा एक सुरक्षाकर्मी र १३ जना महिलासहित ३६ जनामा संक्रमण देखिएको हो ।
गएको साउन ३० गते १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ८० जनाको रिपोर्ट आउँदा गौर नगरपालिकाका २७, माधवनारायण नगरपालिकाका ५, गरुडा, कटहरीया र नेपाल प्रहरीका एक जना गरी ३६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका प्रवक्ता हरेन्द्र गुप्ताले बताए । ‘कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पाजिटिभ देखिएको हो,’ उनले भने, ‘पछिल्लो समय जिल्लाको अवस्था बिग्रदै गएको छ । समुदायमा संक्रमण फैलिने क्रम बढ्दो छ ।’
गुप्ताका अनुसार संकलित स्वाबमध्ये ७० जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमितलाई व्यवस्थित आइसोलेसनमा राख्नुको सट्टा होम आइसोलेसनमा राख्न दिने निर्णयले कोरोना संक्रमण फैलने खतरा बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म रौतहटमा १ हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १ हजार ३ सय २९ जना निको भएर घर फर्किसकेका छन् । अहिले पनि जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा ३१ महिलासहित १ सय ६३ जना बसेका छन् । आइसोलेसनमा बस्नेको संख्या १ सय ३३ जना रहेको छ ।
