मकवानपुर — मकवानपुर जिल्लामा मंगलबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै १८ जना रहेका छन् ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हेटौंडाका १८ जनामध्येमा हेटौंडा उपमहानगरपालिका–४ का सबैभन्दा बढी ५ जनामा संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्रका ५ जना सरकारी कर्मचारीलाई पनि कोरोना भएको छ । हेटौंडा–५ का ३ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–२ का १ जना, हेटौंडा–८ का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१२ का २ जनामा संक्रमण पुष्टि भएको हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।
मकवानपुर गढी गाउँपालिकाका ३ जना र वाग्मती गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
