कावासोती नगरपालिकामा भदौ ६ गतेसम्म लकडाउन

श्रावण २९, २०७७

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिका भदौ ६ गते सम्मका लागि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंकामा संक्रमण फैलन नदिन लकडाउन गरिएको कावासोती नगरपालिकाका नगर प्रवक्ता खेम प्रसाद काफ्लेले बताए ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले लकडाउन गरेर पीसीआर जाँचलाई तीव्र रुपमा अगाडि बढाएर समुदायमा भाइरस फैलन नदिन यस्तो कदम चालिएको हो ।

कावासोती नगरपालिकामा समुदायस्तरमा एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगर कार्यपालिकाले लकडाउन गरेको हो । क्‍वारेन्टाइनमा बसेका व्यक्तिहरुको पीसीआर परीक्षण सकिएपछि समुदायस्तरमा कोरोना फैलिए नफैलिएको जाँच गर्न बैंकर, व्यवसायी ,पत्रकार, सरकारी कार्यालयका कर्मचारीको नमुना परीक्षण गरिएको हो ।

लकडाउनको अवधिमा नगरक्षेत्रभित्र रहेका सबै सरकारी, अर्धसरकारी तथा गैरसरकारी सस्था, बैंक तथा वित्तीय संस्थाहरुको सेवा बन्द हुने छ । तर डिजिटल बैकिङ र एटिएम सेवा भने यथावत सञ्चालनमा रहने कावासोती नगरपालिकाले विज्ञप्ति मार्फत जानकारी गराएको छ । स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरुले नियमित संचालन हुने छ ।

पूर्वी नवलपरासीमा ३ सय ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको मध्य ३ सय २७ जना उपचारपछि निको भएर घर फर्किएको र ७ जना प्राकृतिक चिकित्सालय रजहरको आइसोलेसनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले बताए ।

कोरोना भाइरस

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully