सैनामैनाको आइसोलेसनबाट १७ जना कोरोना संक्रमित निको भएर फर्किए

असार ४, २०७७

अमृता अनमोल

बुटवल — रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलेसनमा रहेका १७ जना कोरोना भाइरसमूक्त भएर घर फर्किएका छन् ।

नगरपालिकाका स्वास्थ्य प्रमुख हेमराज पन्थीले कोरोना संक्रमण देखिएका तर कुनै लक्षण नभएकालाई आइसोलेसनमा गरिएको परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताए । सरकारले पीसीआर नेगेटिभ आएमा १५ दिन कटाएर पठाउन सक्ने निर्देशिका बनाएअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको पन्थीले बताए । सैनामैनाले आइसोलेसनमा १७ दिन बसालेर अबको एक हप्ता घरमा सामाजिक दूरी सहित बस्ने सर्तमा उनीहरुलाई डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुनेहरु १८ देखि ५० वर्ष उमेरसमूहका पुरुष हुन् । सबै भारतको दिल्ली, मुम्बईलगायतका सहरबाट आएका हुन् । उनीहरु यसअघि ७ देखि १५ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएपछि बनकट्टामा रहेको चक्रपाणी  योग तथा प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन सेन्टरमा राखिएको थियो । अब आइसोलेसनमा ७ जना संक्रमित छन् । बुटवल उपमहानगरपालिकासँग सीमा जोडिएको सैनामैनामा अहिलेसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

कोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully