कैलालीमा कोरोनाबाट एक महिलाको मृत्यु

असार ४, २०७७

मोहन बुढाऐर

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।  कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा  उनको बुधबार मृत्यु  भएको हो ।

जेठ ३१ गते स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय  लम्की चुहा अस्पतालमा भर्ना हुन आएकी थिइन् । अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो । त्यसपछि धनगढीको माया मेट्रो अस्पतालले कोहलपुर मेडिकल कलेजमा रिफर गरेको  लम्की चुहाका मेयर महादव बजगाईंले जानकारी दिए । 

मेयर बजगाईंका अनुसार मृत्युपछि भेरी अस्पतालको प्रयोशालामा भएको  थ्रोट स्बाव परीक्षणमा  कोरोना पुष्टि भएको हो ।   ‘उनको दाहसंस्कार उतै गरिने भएको छ’ मेयर बजगाईंलेभने, ‘यता  लम्कीचुहा अस्पताललाई सिल गरेका छौं । मृतकको सम्पर्कमा आएका सबैको खोजी गरिरहेका छौं ।’

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट बुधबार मृत्यु भएका कैलाली गोदावरी नगरपालिका ४६ वर्षीय बस व्यवसायीको शवको व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार  नेपाली सेनाको सहयोगमा मोहना नदीमा उनको दाहसंस्कार गरिने भएको छ ।

कैलाली जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या तीन पुगेको छ ।  यसअघि सेती प्रादेशिक अस्पतालमा धनगढी–४ की एक महिलाको मृत्यु भएको थियो । 

कोरोना भाइरस

मोहन

Link copied successfully