रुपन्देहीका नयाँ संक्रमित अस्पताल भर्ना

वैशाख ३१, २०७७

सन्जु पौडेल

तिलोत्तमा, रुपन्देही — रुपन्देहीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई कोरोना अस्पताल पुऱ्याइएको छ । मंगलबार कोरोना पोजिटभ आएका ९ मध्ये ४ लाई भैरहवास्थित भीम अस्पतालमा र ५ जनालाई बुटवलको कोरोना विशेष अस्पतालमा राखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

‘मंगलबार राति बिरामीलाई ल्याइयो,’ उनले भने, ‘भीम अस्पतालमा पहिलोपटक कोरोनाका बिरामी ल्याइएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सोहीअनुसारको काउन्सिलिङ गरेर खटाइएको छ ।’ उपाध्यायका अनुसार उपचार गराइरहेका व्यक्तिको स्वास्थ्य स्थिति सामान्य छ । नयाँ संक्रमित १७ वर्षदेखि ५० वर्ष उमेरका पुरुष हुन् ।

कोरोना भाइरस संक्रमित पुष्टि हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा  नम्बर ११ का ३, वडा नम्बर १२ का २, वडा नम्बर ७ का २ , वडा नम्बर ५ का १ र वड नम्बर ४ का १ जना छन् । उनीहरु लकडाउनकै बीचमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए । रुपन्देहीमा संक्रमितको संख्या २९ पुगेको छ ।

रुपन्देहीका पहिलो कोरोना संक्रमित भने निको भएर घर फर्किएका छन् । १३ दिनअघि कोरोना संक्रमण पुष्टि भएका कोटहीमाई गाउँपालिका-१ का २५ वर्षीय युवा मंगलबार कोरोना विशेष अस्पताल बुटवलबाट डिस्चार्ज भएका हुन् । 

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully