नेपालगन्ज — नेपालगन्जका एक व्यक्तिबाट कोरोना भाइरस समुदायमा सरेपछि संक्रिमतको संख्या बढेर आइसोलेसन वार्ड अभाव हुन सक्ने भन्दै विकल्पको खोजी गर्न थालिएको छ ।
दुई दिनमै १६ जना कोरोना संक्रमित भेटिएपछि आइसोलेसन वार्ड अभाव हुने देखिएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल सोमबार नेपालगन्ज पुगेरै कोरोनाविरुद्धको तयारी र कोरोना अस्पताल निर्माण गर्न सक्ने स्थान बारे छलफल गरेका छन् ।
बाँके र बर्दियाका कोरोना संक्रमित व्यक्तिहरुलाई खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ । हाल त्यहाँ १६ जना संक्रमितहरुलाई राखिएका छन् । उक्त अस्पतालमा ४० आइसोलेसन, ३ भेन्टिलेसन र ६ आईसीयू वार्ड छन् ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री बरालले चिकित्सक र सुरक्षा अधिकारीहरुको छलफलमा संक्रमित व्यक्तिहरुलाई उपचारका लागि राख्न ठाउँ अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले मेडिकल किट र जनशक्ति अभाव हुन नदिने जनाए ।
खजुराको क्यान्सर अस्पतालमा आइसोलेसन वार्ड भरिए नेपालगन्जको धम्बोझी रोडमा रहेको लायन्स क्लबको डेन्टल अस्पतालमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ २६ वेड बनाइएका छन् । संक्रमित व्यक्तिहरु थपिदै गए नेपालगन्जका होटेल पनि आइसोलेसन कक्ष बनाउन सकिने सुझाव दिइएको छ ।
संक्रमित व्यक्तिहरुको अप्रेशन गर्नु परे कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सकहरु प्रयोग गर्न सकिने अस्पताल प्रमुख डा.सुरेशकुमार कनौडीयाले जनाएका छन् । ‘अप्रेशनका लागि हामीसँग जनशक्ति छ । तर अस्पातलाई कोरोना अस्पताल बनाउन मिल्दैन । किनभने कोरोनाबाहेक सयौं बिरामी उपचारका लगि यहीँ आउँछन्,’उनले भने ।
समुदायमा कोरोना भाइरस फैलिएपछि नेपालगन्ज उपमहानगरपालिका ८ जोलहनपुरवाका तीन सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । संक्रमतिहरुको सम्पर्कमा आएका थप व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
