बुटवल कोरोना अस्पतालमा सामान्‍य बिरामीको मृत्यु भएको भन्दै प्रदेशसभा सदस्यको प्रश्‍न

चैत्र १९, २०७६

कान्तिपुर संवाददाता

पाल्पा — बुटवल उपमहानगरपालिकाको कोरोना भाइरसबाट संक्रमितका लागि स्थापना गरिएको अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोप्रति प्रदेश ५ प्रदेशसभा सदस्य वीरबहादुर रानाले शंका व्यक्त गरेका छन् । 

उक्त अस्पतालमा पाल्पा रिब्दीकोट गाउँपालिका- ५ कुसुमखोला सैटोला घर भई रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका बाबुराम थापाको मृत्यु भएको थियो । ३४ वर्षीय थापा विदेशबाट फर्किएका थिए । उनी बिरामी भएर अस्पताल भर्ना भएका थिए । अस्पताल र सरकारी संयन्त्रले भने उनको मृत्यु कोरोनाबाट नभएको बताएका थिए ।

थापा चैत ६ गते युएईबाट नेपाल आएका थिए । उच्च ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई १३ गते क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा उनको आइतबार मृत्यु भएको थियो । कोरोना परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो । कोरोना परीक्षण गर्ने सरकारी प्रयोगशालाले उनमा कोरोनाको लक्षण नभेटिएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

प्रदेशसभा सदस्य रानाले उक्त अस्पतालले थापाको राम्रोसँग उपचार नगरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । त्यसरी मृत्यु हुँदा पनि सरकारले सामान्य रूपमा लिनुले गम्भीर प्रश्न उठाएको रानाको भनाइ छ ।

विज्ञप्ति जारी गर्दै रानाले भनेका छन्, 'यस्तो अवस्थामा बिरामीको कोरोना संक्रमण नभई अन्य कारणले मृत्यु हुने अवस्था आउनु दुःखद भएकाले अन्य स्थानीय तहहरूले निर्माण गरेका क्वारेन्टाइन र आइसोलेसन वार्डप्रति गम्भीर प्रश्न उब्जाएको छ ।'

सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा जोसुकैलाई कोरोनाको आशंकामा क्वारेन्टाइन र आइसोलेसनमा राख्दा अरुले पनि थापाले जस्तै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रदेशसभा सदस्य रानाले सचेत गराएका छन् ।

मृतक थापाको परिवारलाई सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने पनि रानाको माग छ ।

कान्तिपुर

Link copied successfully