मोरङको रतुवामाई नगरपालिका मेयरमा पुन: कांग्रेस, उपमेयरमा एमाले विजयी

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरङको रतुवामाई नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रतुवामाई नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नागेश्वरप्रसादसिंह गंगाई १३ हजार १ सय ३५ मत ल्याई विजयी भएका हुन् ।

गंगाईले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार दुर्गाबहादुर विष्‍टलाई १ हजार ८ सय ८३ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाबहादुर विष्‍टले ११ हजार २५२ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमयन्तादेवी चुडाल ९ हजार ३ सय ७४ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार सुमन कालीकोटेले ८ हजार ४ सय ७९ मत ल्याएका छन् ।

यस नगरपालिकामा २०७४ सालको स्थानीय तह चुनावमा पनि कांग्रेसका उम्मेदवार नै नगरपालिका प्रमुख र एमालेका उपप्रमुख भएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully