सिन्धुलीको कमलामाईमा रोकिएको मतगणना सुरु

जेष्ठ ५, २०७९

राजकुमार कार्की

सिन्धुली — २ वटा मतपत्र बढी भेटिएपछि रोकिएको सर्वदलीय सहमतिपछि कमलामाई नगरपालिका १३ को मतगणना सुरु भएको छ । मुचुल्कामा लेखिएको भन्दा २ वटा मतपत्र बढी भेटिएपछि मतगणना दुई घण्टाअघि रोकिएको थियो ।

वडा नम्बर १३ को मत पेटिकामा खसेको मतभन्दा बढी भेटिएपछि मतगणना रोकिएको मतगणना कार्य सर्वदलीय सहमतिपछि पुनः सुरु भएको निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए ।

हाल वडा नम्बर १२, १३ र १४ को मतगणना भइरहेको छ । १४ वडामध्ये वडा नम्बर १, ४, ५, ६ र ९ नम्बरमा कांग्रेस ३, ७, ८, ११ नम्बरमा एमाले र २ र १० नम्बर वडाको अध्यक्ष माओवादी केन्द्रले जितेका छन् । 

हालसम्मको मतगणनामा गठबन्धनबाट मेयरमा कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राखेका छन् । उनले १२ हजार ५ सय ३९ मत प्राप्त गरेका छन् भने एमालेका महेन्द्रदेव श्रेष्ठले १० हजार ८ सय ८ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेकी मञ्जु देवकोटाले १० हजार ८ सय ७२ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको १० हजार २ सय ६९ रहेको छ ।

स्थानीय तह निर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully