बाजुराको त्रिवेणी नगरको प्रमुख, उपप्रमुखमा कांग्रेस निर्वाचित 

जेष्ठ ४, २०७९

अर्जुन शाह

(बाजुरा) — बाजुराको त्रिवेणी नगरपालिकाको नगर प्रमुखमा कांग्रेस उम्मेदवार कर्णबहादुर थापा र उपप्रमुखमा कमला कुमारी जोशी (न्यौपाने) निर्वाचित भएका छन् । कांग्रेस उमेदवार थापाले एमालेका उम्मेदवार मोतिसिंह बुढाभन्दा एक हजार १ सय ७५ मत बढि ल्याएर विजयी भएका हुन् ।

थापाले ४ हजार ७ सय ६१ मत पाएका छन् भने बुढाले ३ हजार ५ सय ८६ मत पाए । यस्तै उपप्रमुख पदमा कांग्रेसकै जोशीले माओवादी केन्द्रका उम्मेदवार मनराज बुढा भन्दा एक हजार ६ सय ४७ मत बढि ल्याएर निर्वाचित भएकी छन् ।

जोशीले ४ हजार ७ सय ४१ मत प्राप्त गरिन् भने बुढाले  हजार ३ हजार ९४ मत प्राप्त गरे । त्रिवेणी नगरपालिकामा एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । नगर प्रमुखमा विजयी थापा शिक्षक पेशाबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

९ वडा रहेको त्रिवेणी नगरपालिकामा कांग्रेसले ६ वडामा जित हात पारेको छ ।  

स्थानीय तह निर्वाचन २०७९

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully