डोटीका ४ पालिकाको मतगणना स्थगित

वैशाख ३१, २०७९

कान्तिपुर संवाददाता

डोटी — डोटीका ९ मध्ये ४ पालिकाको मतगणना कार्य स्थगित गरिएको छ । निर्वाचन प्रकृयाको विषयलाई लिएर सर्वपक्षीय बैठकमै विवाद उठेपछि मतगणना कार्य स्थगित भएको हो । दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआई सिंह गाउँपालिका र सायल गाउँपालिकामा मतगणना स्थगित भएको छ । 

दिपायल सिलगढी नगरपालिकामा समयमै बैठकमा उपस्थित नभएको भन्दै अर्को पक्षले मतपेटिका खोलेर मतगणना कार्य सुरु गर्दा विवाद भएको हो । एमालेका प्रतिनिधिलाई पटक-पटक बैठकमा आउन आग्रह गरेपनि उपस्थित नहुँदा अन्य दलका प्रतिनिधिहरुको रोहबरमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए  । सामान्य विषय रहेकाले सहमति प्रयास भइरहेको र केही बेरमा मतगणना सुरु हुने उनले जानकारी दिए ।

उता केआईसिंह गाउँपालिकाको वडा नं. १ स्थित मोहन्याल माविको मतदान केन्द्रमा मतदान गर्दा धाँधली भएको भन्दै समाजवादी र माओवादीका प्रतिनिधिले सर्वदलीय बैठक बहिष्कार गरेपछि मतगणना कार्य सुरु भएको छैन । मतदान सम्पन्न भइसकेपछि निर्वाचन अधिकृतको कार्यालयमा धाँधली भएको भन्दै निवेदन परेको थियो। त्यस्तै शिखर नगरपालिका र सायल गाउँपालिकामा पनि विवादका कारण सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना रोकिएको छ । बेगटान फुडसिल, बडीकेदार, जोरायल , आदर्श र पूर्वीचौकी गाउँपालिकामा भने मतगणना भइरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully