दाङका दुई पालिकामा मतगणना सुरु

वैशाख ३१, २०७९

दुर्गालाल केसी

दाङ — दाङका दुई पालिकामा मतगणना सुरु भएको भएको छ । स्थानीय तह निर्वाचनमा दाङमा ७१ दशमलव १६ प्रतिशत मत खसेको छ । जिल्लामा ४ लाख ३ हजार ६ सय ८३ मतदातामध्ये २ लाख ८३ हजार ९८ मत खसेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण भण्डारीले बताएका छन् ।

जिल्लामा १० पालिकाका ९९ वडाका मतदान भएको थियो । जसमा पुरुष ६५ दशमलव ७६ र महिला ७६ दशमलव ४८ प्रतिशतले मतदान गरेका छन् । 

घोराही उपमहानगरपालिकामा ६७ दशमलव ७६, तुलसीपुरमा ६८ दशमलव ९६, लमहीमा ७४ दशमलव ५८, राजपुरमा ७४ दशमलव ६७, गढवामा ७२ दशमलव ७०, राप्तीमा ७२ दशमलव ७६, बंगलाचुलीमा ६७ दशमलव २८, दंगीशरणमा ७२ दशमलव २८, शान्तिनगरमा ७० दशमलव ९४ र बबईमा ६९ दशमलव ६५ प्रतिशत मत खसेको छ ।

बबई र राप्ती गाउँपालिकाको मतगणना रातिदेखि नै सुरु भएको छ भने अन्य पालिकाको बिहानदेखि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । 

तुलसीपुर उपमहानगरपालिकाको भने जेठ ३ गते रातिदेखि मात्रै गणना हुने भएको छ । तुलसीपुर १७ मा निर्वाचन स्थगित भएका कारण गणना ढिला हुने भएको हो । एमालेबाट वडा अध्यक्षका उम्मेद्वार लबरु चौधरीको मृत्यु भएपछि मतदान जेठ ३ गते तोकिएको छ ।

स्थानीय तह निर्वाचन २०७९

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully