देशभर मतदान सुरु

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन-२०७९ को मतदान सुरु भएको हो ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

नेपालगन्ज उपमहानगरपालिका १२ मा मतदानका लागि लामबद्ध स्थानीय । तस्बिर : रुपमा गहतराज/कान्तिपुर

बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully