१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अघिल्लै दिन मतदानस्थल

मतदानस्थलसम्म पुग्न दिनभरि लाग्ने भएपछि मतदाता उतै बास बस्ने गरी हिँडे

मतदान गर्न जिल्लाको दुर्गम बस्तीका मतदाता एक दिनअघि नै मतदानस्थलतर्फ हिँडेका छन् । धवलागिरि गाउँपालिका–४ मुदीको सीमकोस र बगराका ६० जनाभन्दा बढी मतदाता बिहीबार खाजाको बन्दोबस्त गरेर मतदानस्थलतर्फ लागेका हुन् ।

अघिल्लै दिन मतदानस्थल

शुक्रबार हुने स्थानीय तह निर्वाचनमा उनीहरूले बुद्धिविकास माध्यमिक विद्यालय मतदान केन्द्र प्रयोग गर्दै छन् । तर, त्यहाँ पुग्न सीमकोस र बगराबाट कम्तीमा ७ घण्टा हिँड्नुपर्छ । मतदानकै दिन हिँड्दा समयमै नपुगिने भएकाले अघिल्लै दिन उतै बास बस्नेगरी हिँडेको बगराका हरि तिलिजाले बताए ।

‘आँगनको सरकार चुन्न अर्काको घरको पिँढीमा बास माग्न जानुपर्ने अवस्था हटेन । थोरै मतदाता भए पनि हामीलाई गाउँमै मतदान केन्द्र राखिदिए हुन्थ्यो,’ उनले भने, ‘वृद्धवृद्धा, अशक्त, गर्भवती र सुत्केरीलगायत त मतदान केन्द्रसम्म पुग्न सम्भव प्रायः छैन । उनीहरूका लागि चुनाव आउनु–नआउनुले केही फरक पार्दैन ।’ सीमकोस र बगरा धौलागिरि पदमार्गको अन्तिम बस्ती हो । फोटोसहितको मतदाता नामावली संकलन गर्न कर्मचारी नपुगेपछि २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा यहाँका स्थानीयले मतदान गर्न पाएका थिएनन् । २०७४ को स्थानीय तह निर्वाचनयता मात्रै उनीहरूले मताधिकार सुरक्षित गर्न पाएका हुन् ।

सीमकोस र बगराबाट मात्र होइन, धवलागिरि–४ मुदीकै करिब ५० मतदाता भएको नाउरा, ३०–३५ जना मतदाता रहेको नेर्वाङबाट नजिकको बुद्धिविकास मावि मतदान केन्द्र पुग्न साढे २ घण्टाभन्दा बढी लाग्छ । त्यस्तै, करिब ५० मतदाता भएको चुचुङवासीलाई नजिकको चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्र पुग्न कम्तीमा डेढ घण्टा लाग्छ । पुगेर भोट हालेर फर्किंदा कम्तीमा २ दिन बित्ने भएपछि कतिपय मतदान गर्नै अनिच्छुक रहेको तिलिजाले सुनाए । ‘मतदान केन्द्रै पुग्न त्यत्रो समय लाग्छ । त्यसमाथि भोट कसरी हाल्ने भन्नेबारे केही सिकाएका छैनन्,’ उनले थपे ।

मतदान गर्न १० घण्टा पैदल

हुम्लाको ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढा मतदान गर्न बिहीबार बिहानै थापागाउँस्थित कैलाश प्राथमिक विद्यालयमा हिँडेका छन् । अहिलेसम्म तीनपल्ट मतदान गरेका उनी शुक्रबार एकै दिनमा भोट हाल्न नभ्याइने भएकाले बिहीबारै हिँडेका हुन् । ‘आफूले पाएको अधिकार सुरक्षित गर्न पनि १० घण्टा हिँड्नुपर्छ,’ उनले टेलिफोनमा भने, ‘गाउँमै मतदान केन्द्र बनाउन माग गरेको वर्षौं बित्यो, कसैले सुनेनन् ।’

उनका छिमेकी दुर्गावीर बुढा पनि आफन्तको घरमा बास बस्ने गरी थापागाउँ हिँडेका छन् । ‘आज नहिँडे मतदान गर्नै पाइन्न,’ उनले भने, ‘आज आफन्तको घरमा बास बसेर मतदान गरी पर्सी मात्र घर फर्किन्छौं ।’ उनीहरूसहित मासपुरका झन्डै एक सय जना मतदाता थापागाउँ हिँडेका छन् । उनीहरू आफन्तको घरमा बास बस्छन् भने शुक्रबार मतदान गरेर शनिबार मात्र गाउँ पुग्नेछन् । मतदान केन्द्र टाढा भएपछि अपांगता भएका र अशक्तहरू भने मतदानको अधिकारबाट वञ्चित भएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिसहित गाउँमा पुग्ने सबै नेता र विभिन्न कार्यालयका प्रतिनिधिसँग गाउँमै मतदान केन्द्र राख्न माग गरे पनि वर्षौंदेखि बेवास्ता भइरहेको मासपुरका कर्णबहादुर बुढाले बताए । ‘नेताहरूलाई जिताउनकै लागि पनि हामीले सास्ती भोग्नुपर्छ, निर्वाचनका बेला सधैं मतदान केन्द्र गाउँमै बनाइदिन्छौं भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि हेर्दैनन्, हामीले भोटकै लागि अझै कति सास्ती भोग्नुपर्ने हो ?’ उनका अनुसार मासपुरमा २२ घरधुरी छन् ।

स्थानीय धनवीर बुढाले भौगोलिक विकटताका कारण आफूहरू लामो समयदेखि सरकारी सेवा सुविधाबाट पनि वञ्चित भएको बताए ।

उनका अनुसार वडा कार्यालय पुग्नसमेत १० घण्टा हिँड्नुपर्ने बाध्यता छ । ‘राज्यबाट पाउनुपर्ने अरू सुविधा त पाएनौं पाएनौं, कम्तीमा भोट हाल्ने ठाउँ त गाउँमै बनाए विकासको अनुभूति हुन्थ्यो,’ उनले भने, ‘सदरमुकाम टाढा हुँदा आफू बसेको घरजग्गाको लालपुर्जासमेत बनाउन सकिएको छैन ।’

मासपुरमा अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामलसमेत नपुगेको बुढाले बताए । उनका अनुसार खाद्यान्न लिन पनि थापागाउँ पुग्नुपर्छ । ‘एक दिन पैदल हिँडेर पनि ४/५ किलो चामल मात्र पाइन्छ,’ उनले भने, ‘त्यो चामल कति दिन पुर्‍याउने ?’ सरकारी ढुवानी अनुदानको चामल नपाइने भएपछि ५० किलोको एक बोरा ३ हजार रुपैयाँ तिरेर बजारबाट किन्नुपरेको उनले बताए । ताजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्लले भौगोलिक विकटता र कम घरधुरी भएका कारण मासपुरमा मतदान केन्द्र राख्न नसकिएको बताए । उनका अनुसार मासपुरमा खाद्यको चामल पठाउन पहल भइरहेको छ ।

घनश्याम खड्का (म्याग्दी), कृष्णप्रसाद गौतम (सुर्खेत) र छपाल लामा (हुम्ला)

प्रकाशित : वैशाख ३०, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?