मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला

महिलालाई मात्र खटाएर नमुना मतदान केन्द्र तोकियो, समाजमा सकारात्मक सन्देश जाने विश्वास

स्थानीय तह निर्वाचनका लागि देशैभर हजारौंको संख्यामा कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । ७५२ स्थानीय तहको नेतृत्व चुन्न शुक्रबार एकैपटक हुन लागेको निर्वाचनमा मुलुकभर यस्ता मतदान केन्द्र पनि छन्, जहाँ खटाइएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला छन् ।

मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला

पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुखबोध मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । करिब १२ सय मतदाता रहेको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षाको अभिभारा पनि महिलाको काँधमा छ । यो केन्द्रमा नगर शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा ५ जना महिला कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षार्थ खटिएका सबै ५ जना सुरक्षाकर्मी पनि महिला नै हुन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी मावि ‘ख’ केन्द्रमा पनि कर्मचारी र सुरक्षाकर्मी सबै महिला नै रहेको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । १ हजार ४ सय ५९ मतदाता रहेको यो केन्द्र म्याङलुङ बजार क्षेत्रमै पर्छ । जिल्लाकै नमुना घोषणा गरिएको केन्द्रमा सीता खनालको नेतृत्वमा ७ महिला कर्मचारी परिचालन गरिएको छ । उनीहरूलाई सघाउन ४ जना महिला स्वयंसेवक पनि छन् । सुरक्षार्थ तैनाथ ७ सुरक्षाकर्मी पनि महिला नै हुन् ।

गोरखा नगरपालिका–६ छहरेको बालमन्दिर माविमा रहेको मतदान केन्द्र पनि महिलाले मात्र सम्हालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना यो केन्द्रको मतदान अधिकृत छिन् । यस्तो कदमले समाजमा सकारात्मक सन्देश जाने उनले बताइन् । ‘हाम्रो देश पुरुषप्रधान छ, महिलाले गर्न सक्दैनन् भनेर उपेक्षा गरिन्छ,’ उनले भनिन्, ‘महिला सहनशील र संयमित हुन्छन् । अप्ठेरो परेको ठाउँमा सहजीकरण पनि सहज ढंगले गर्न सक्छन् । त्यसो भएकाले पनि महिला मात्र खटिँदा हौसलाको विषय भयो ।’

मतदानमा सुरक्षा दिन नेपाल प्रहरीकी सई सिर्जनाकुमारी सेनको नेतृत्वमा ८ सुरक्षाकर्मी खटाइएको छ । जिल्लाभर ३११ मतदान केन्द्र छन् । ९८० मतदाता रहेको यो केन्द्रमा मात्र महिला खटाइएको हो । मंगलबार केन्द्र पुगेका उनीहरूले बुधबार र बिहीबार मतदानस्थल व्यवस्थापन गरेका छन् । यसबाहेक राजनीतिक दलसँग बैठक, नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा दिने काम पनि भएको ढुंगानाले बताइन् ।

अछाममा पनि नमुना मतदान केन्द्रको रुपमा मंगलसेन नगरपालिका–५ का ३ केन्द्रको जिम्मा महिलालाई दिइएको छ । शोडषा माविको मतदान केन्द्र ‘क’ की अधिकृत देवसराकुमारी थापाले पहिलो पटक मतदान अधिकृतको जिम्मेवारीलाई अवसर र चुनौतीको रुपमा समेत लिइएको बताइन् । २०६४ को संविधानसभा निर्वाचनमा शोड्षा माविकै मतदान केन्द्रमा स्वयंमसेवक भएर पहिलो पटक निर्वाचनमा खटिएको उनले स्मरण गरिन् । २०७० को संसदीय निर्वाचनमा त्रिपुरासुन्दरी श्रीकोटमा सहायक कर्मचारी र २०७४ को स्थानीय निर्वाचनमा रामारोशनको शान्तडामा सहायक मतदान अधिकृतका रूपमा उनले काम गरिसकेकी छन् । हाल साँफेबगर नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख थापाले मतदान अधिकृतको जिम्मेवारीले आत्मविश्वास बढाएको बताइन् । ‘यो केन्द्रमा अन्य ४ कर्मचारी र सुरक्षाकर्मी पनि महिला नै छन्,’ उनले भनिन् ।

शोडषा माविकै केन्द्र ‘ख’ को नेतृत्वमा छिन् कमला खड्का । २०६४ यताका निर्वाचनमा सहायक कर्मचारीका रूपमा खटिँदै आएकी उनले केन्द्रकै नेतृत्व लिएर मतदान गराउने पहिलोपटक अवसर पाएकी हुन् । यही मतदानस्थलको केन्द्र ‘ग’ मा गंगा बुढामगरको नेतृत्वमा खटिएका सबै कर्मचारी महिला छन् । ‘अस्पतालको आपत्कालीन सेवामा बस्नुपर्ने भएकाले अहिलेसम्म कुनै पनि चुनावमा खटिएको थिइनँ । पहिलोपटक चुनाव सम्पन्न गराउने जिम्मेवारी पाएकी छु,’ जिल्ला अस्पतालकी सिनियर नर्सिङ अधिकृत उनले भनिन्, ‘तीनवटै केन्द्रमा महिला नै प्रमुख भएकाले समन्वय गरेर अगाडि बढिरहेका छौं । सजिलो नै छ ।’ यी तीनै केन्द्रको शान्ति सुरक्षाको जिम्मा पनि महिलालाई नै दिइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई बुद्धिकुमारी तामाङसहित तैनाथ सबै प्रहरी र म्यादी महिला हुन् । ‘सबैबाट सहयोग पाएका छौं । शान्ति सुरक्षाको पाटोलाई पनि मजबुत बनाएका छौं,’ तामाङले भनिन् । यी तीनवटै केन्द्रमा गरी २ हजार २ सय ६४ मतदाता छन् ।

यता, धनकुटाका २ निर्वाचन केन्द्रमा पनि महिला मात्रै परिचालन गरिएको छ । धनकुटा नगरपालिका–६ स्थित बहुउद्देशीय सामुदायिक भवन ‘क’ र साँगुरीगढी गाउँपालिकाको एक केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी महिला नै परिचालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

वीरगन्ज–४ स्थित चिकित्सा शास्त्र अध्ययन संस्थान मतदान केन्द्र ‘क’ र ‘ख’ को नेतृत्व महिला कर्मचारीले गरिरहेका छन् । केन्द्र ‘क’ को प्रमुखमा प्रतिज्ञा वैद्य र ‘ख’ को प्रमुखमा प्रतीक्षा सिंह छन् । दुवै केन्द्रमा गरी १ हजार ६ सय ९ मतदाता छन् । कर्मचारीतर्फ कुल १० जना खटिएकोमा ९ जना महिला छन् । १२ सुरक्षाकर्मी खटिएकोमा ३ जना महिला छन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ, मतदान केन्द्र सञ्चालन गर्न कुनै समस्या छैन,’ वैद्यले भनिन् । केन्द्र ‘ख’ की प्रमुख सिंहले यसअघि २ वटा निर्वाचनमा आफू खटिसकेकाले अनुभवको कमी नरहेको बताइन् । ‘हाम्रो तालमेल राम्रो छ, सफल रूपमा निर्वाचन सम्पन्न गर्नेछौं,’ उनले भनिन् ।

–लक्ष्मी गौतम (पाँचथर), चन्द्र कार्की (तेह्रथुम), हरिराम उप्रेती (गोरखा), शंकर आचार्य (पर्सा) र मेनुका ढुंगाना (अछाम)

प्रकाशित : वैशाख ३०, २०७९ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?