२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००
स्थानीय तह निर्वाचन

पाँच वर्षमा आउने एक दिन

यसपटक कुनै पनि दलले सक्रिय बहिष्कारको नीति लिएका छैनन्, पूरै मुलुक निर्वाचनमा होमिएको छ
गंगा बीसी

काठमाडौँ — पाँच वर्षमा एक दिन एकचोटि हुने स्थानीय निर्वाचन आज हुँदै छ । लोकतन्त्रको जरा तलैसम्म पुर्‍याउने आधारस्तम्भको रूपमा रहेको यो निर्वाचन देशभर एकै चरणमा हुँदै छ ।

पाँच वर्षमा आउने एक दिन

१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले यो निर्वाचनमा भाग लिँदै छन् । नेपालका सबै राजनीतिक दल चुनावी मैदानमा उत्रिएका छन् । कुनै पनि दलले सक्रिय बहिष्कारको नीति लिएका छैनन् । पूरै मुलुक निर्वाचनमा होमिएको छ । राजनीतिशास्त्रका प्राध्यापक मीना मल्ल वैद्यले लोकतन्त्रमा चुनावको महत्त्व बयान गरीसाध्य नभएको बताइन् । ‘जहाँ चुनाव हुँदैन, त्यहाँ प्रजातन्त्र हुँदैन,’ उनले भनिन्, ‘चुनाव प्रजातन्त्रको खम्बा हो । चुनाव प्रणाली जति राम्रो हुन्छ, त्यति प्रजातन्त्र बलियो हुन्छ । यसको महत्त्व बयान गरीसाध्य हुँदैन ।’

नयाँ संविधान जारी भएपछि दोस्रोपटक हुन लागेको यो निर्वाचनबाट ७५३ पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् । यसका लागि १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । यो निर्वाचनमा ५५ हजार ६ सय ९८ महिला उम्मेदवार हुनु समावेशी लोकतन्त्रको उदाहरणको मानक हो । लोकतन्त्रमा जनता नै मालिक हुन् भन्ने स्थापित गर्न निर्वाचन अपरिहार्य भएको विज्ञको भनाइ छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदानबाट जनप्रतिनिधि चयन गर्ने अधिकार लोकतन्त्रमा अरु हुन नसक्ने बताए । ‘प्रमुख कुरा सावैभौमसत्ता जनतामा निहीत छ, भोट मात्र दिने होइन, भोटका माध्यमबाट आफ्नो सार्वभौमसत्ता प्रयोग गर्ने समय हो,’ उनले भने, ‘कसरी मुलुक सञ्चालन गर्ने, आवधिक निर्वाचनको माध्यमबाट मुलुकलाई कसरी अघि बढाउने भन्ने अधिकार प्रत्यायोजन गर्ने समय हो । योभन्दा ठूलो अधिकार लोकतन्त्रमा अरु हुँदैन ।’

‘गाउँगाउँका सिंहदबार’ लाई मजबुत बनाउने अवसर यो निर्वाचनले दिएको छ । विगतभन्दा मतदाता सचेत छन् । यसपटकको निर्वाचनमा मतदाताले लोकतन्त्रलाई थप बलियो बनाउन मात्र होइन, आफ्नो पालिकाको विकास गर्ने सक्षम जनप्रतिनिधि चयन गर्ने विश्वास देखिन्छ । ‘सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने पुष्टि यो निर्वाचनले गर्दै छ,’ उनले भने, ‘विगत पाँच वर्षमा दलहरूले स्थानीय सरकारका रूपमा चिनिएको पालिकामा गरेको कामका आधारमा जनप्रतिनिधि चयन गर्ने छन् ।’

गत स्थानीय निर्वाचन सिकाइका रूपमा थियो, त्यसबाट शिक्षा लिँदै चयन भएका जनप्रतिनिधिले स्थानीय सरकारलाई गतिशील बनाउने अपेक्षा छ । यो निर्वाचन गएको पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको समीक्षा गर्दै गलत गरेका पार्टी र जनप्रतिनिधिलाई मतदानमार्फत दण्ड र पुरस्कार दिने गजबको अवसरका रूपमा रहेको छ । ‘यसअघिको निर्वाचनबाट पत्याइएका, विश्वास गरिएका दलहरूको परीक्षण गर्ने समय हो,’ पोखरेल भन्छन्, ‘उनीहरूले ठीक गरे कि गरेनन् जाँच्न जनताका लागि मौका हो, राम्रो गरेका छन् भने पुरस्कार दिने, गरेका छैनन् भने शिक्षा सिकाउने हो । लोकतन्त्रमा बलियो पिलर भनेको चुनाव हो ।’

लोकतन्त्र बलियो हुन निर्वाचन प्रक्रिया बलियो हुनु आवश्यक भएको विज्ञको भनाइ छ । प्रमुख दलहरूले नै निर्वाचन प्रक्रियामा बलियो भूमिका खेल्नुपर्नेमा पूर्वआयुक्त पोखरेलले जोड दिए । ‘निर्वाचन प्रक्रिया जति राम्रो भयो, लोकतन्त्र त्यति बलियो हुन्छ, नागरिकले प्रजातन्त्रलाई थप सुदृढ बनाउन आफू सहभागी भएर भूमिका खेल्न सक्छन्,’ उनले भने ।

निर्वाचनका बेला आमजनता बलिया हुन्छन्, उनीहरू प्रश्न गर्ने हिम्मत गर्छन् किनकि ती प्रश्नले पार्टी र उम्मेदवारलाई जिम्मेवार हुन बाध्य बनाउँछ । ‘जति बढी प्रश्न गरिन्छ, प्रजातन्त्र त्यति बलियो हुन्छ,’ पोख्रेलले भने, ‘प्रश्नबिनाको प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रले जनतालाई प्रश्न गर्ने हैसियतमा पुर्‍याउँछ ।’

प्राध्यापक वैद्यले मतदाता विगतभन्दा सचेततापूर्ण ढंगले मतदान गरे पनि सही उम्मेदवारले जित्ने बताइन् । ‘मतदाताले मतदान गर्दा करकापमा होइन, आत्मनिर्णयको अधिकार प्रयोग गर्नु जरुरी छ,’ उनको भनाइ छ, ‘अझै पनि कतै करकाप र प्रभावमा मत तान्ने प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिलाई अस्वीकार गर्ने बेला यही हो ।’

यतिबेला सहर, गाउँको टोलटोलसम्म राजनीतिक सञ्चार गराएको छ । ‘निर्वाचनका बेला मात्र होइन, नेपाल जस्तोसुकै अवस्थामा गुज्रे पनि प्रजातन्त्र हाम्रो रगतमा छ, नसा नसामा छ,’ पोख्रेलको भनाइ छ, ‘हरेक आन्दोलनमा त्यसको प्रतिविम्ब छ । जतिसुकै अरु कसैले प्रजातन्त्रलाई अपहरण गर्न खोजे पनि जनताले दिँदैन, प्रजातन्त्र यसरी जनतामा भिजेको छ,’ उनले भने, ‘प्रजातन्त्रलाई सुरक्षित गर्ने बलियो आधार जनताको प्रतिबद्धता हो । यो निर्वाचनबाट झल्किन्छ ।’

‘गाउँ–गाउँमा सिंहदबार व्यवहारमै’

स्थानीय सरकारलाई गाउँगाउँमा सिंहदबार भनिए पनि त्यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयन हुन सकेन । स्थानीय सरकारको पहिलो पाँच वर्ष परीक्षणका रूपमा रह्यो । अब भने गाउँगाउँमा सिंहदबार व्यवहारमै कार्यान्वयन हुनुपर्ने प्राध्यापक वैद्यको भनाइ छ । ‘स्थानीय सरकार भने पनि केन्द्रमा बस्ने शासकको केन्द्रीकृत मानसिकता हाबी भयो । स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न कन्जुस्याइँ गरियो,’ उनले भनिन्, ‘अबचाहिँ गाउँगाउँमा सिंहदबारको अभ्यास व्यवहारमै गर्नुपर्छ ।’

उनले चुनावका बेला मात्र होइन, निर्वाचित भइसकेपछि पनि जनतासँगको सम्बन्ध बलियो हुनुपर्ने बताइन् । ‘चुनावमा उम्मेदवार र मततादाबीच निकट सम्बन्ध देखिन्छ, चुनाव जितेर गइसकेपछि त्यो सम्बन्ध रहेको देखिन्न,’ उनले भनिन्, ‘जनप्रतिनिधि र मतदाताबीच चुनावपछि खाडल देखिन्छ । जनता र जनप्रतिनिधिबीच राम्रो सम्बन्ध भए मात्र गाउँगाउँका सिंहदबार बलियो हुन्छन् ।’ चुनावमा जनताले मत दिएर जितिसकेपछि जनप्रतिनिधिले जनतालाई गुण फर्काउनुपर्ने उनको भनाइ छ । ‘प्रजातन्त्र भनेको जनतालाई सेवा दिनु हो,’ उनले भनिन्, ‘चुनाव जितेर गइसकेपछि जनप्रतिनिधि जनताको दैनिकीसँग जोडिनुपर्छ ।’ चुनाव जितेर गइसकेपछि गरेको प्रतिबद्धतालाई निगरानी गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३०, २०७९ ०६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?