दुई जना गम्भीर घाइते
सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकाको वडा ३ पाल्चोक गाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार हुने स्थानीय तह निर्वाचन ०७९ मुखमै आइपुग्दा बिहीबार मध्यरातमा स्थानीय एमाले नेता छेन्ज्यो तामाङको घरमा ढुंगामुडा गरेको भन्दै दुवै दलका कार्यकर्ताबीच झगडा सुरु भएको थियो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार त्यो झगडाले विकराल रुप लिँदा स्थानीय एमाले नेता छेन्ज्यो तामाङ र कांग्रेसका मानदोर्जे तामाङ घाइते भएका हुन् । घरमा ढुंगामुडा गरेको विषय ठूलो झडपमा पुगेपछि धारिलो हतियार खुकुरी, ढुंगामुढा आपसमा प्रहार नै हुन थालेपछि स्थानीय नै भागभागको अवस्था चलेको थियो ।
मध्यरातमा झगडाले स्थानीय मतदाताले त्रसित भएर सुरक्षाकर्मीलाई खबर गरेका थिए । उनका अनुसार झडपमा संलग्न कांग्रेस र एमाले दुवै दलका कार्यकर्ता हेलम्बु ३ का आइतमान तामाङ, मन्जित तामाङ र छिरिङ तामाङ गरी तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ थालिएको छ । ‘घटना भएको केही समयमै हेलम्बु प्रहरी घटनास्थल पुग्यो, दुवै घाइतेको काभ्रेको धुलिखेल अस्पतालमा उपचार हुँदैछ, झडपमा संलग्न तीन जना पक्राउ परेका छन्,अन्य फरार छन् ,’ डीएसपी बस्नेतले भने ।
दुवै घाइतेको अवस्था गम्भीर रहेको र दुवैको टाउको ,हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ । दुवै समूहको पक्षमा कसरी के भएको भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरिएको र अन्य झडपमा संलग्नलाई प्रहरीले खोजिरहेको उनले उल्लेख गरे । त्यसैगरी चौतारा साँगाचोकगढी नगरको ठूलोसिरुवारी, सानोसिरुवारीजस्ता धेरै भेगमा सामान्य विवाद र धकेलाधकेल भएको र त्यस घटनालाई त्यतिबेला मिलाएपछि झडप नभएको उनले प्रष्ट्याए । ‘यस्ता दुखद र झडप घटना हुन नदिन ‘अर्लट’ भएर सक्रिय छौं, म्यादी प्रहरी पनि खटिएका छन् ,’ उनले भने ।
