रुकुम पश्चिम — स्थानीय तह निर्वाचनका लागि खटिएका एक म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डोल्पाको से फोक्सुण्डो गाउँपालिका–१, कोमास मतदान स्थलमा खटिएका २० वर्षीय सुरिन विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काइके गाउँपालिका–४, घर भएका २४ वर्षीय विक आफूलाई खटाइएको मतदान स्थल पुग्नुअघि बिरामी भएका थिए । से फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ से गाउँमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरन्जन थापाले जानकारी दिए ।
उकालो हिँड्ने क्रममा पेट दुख्ने समस्या भएपछि उनलाई से गाउँमै फर्काइएको थियो । उनी बिरामी भएपछि उनको साथमा रहेका अरु २ जना म्यादी प्रहरीले मृत्यु भएको खबर गरेको डीएसपी थापाले बताए ।
से गाउँमा फोन सम्पर्क नहुने भएकाले मृतकसँगै रहेका म्यादी घटनाबारे प्रहरीलाई खबर गर्न डेढ घण्टा टाढाको बाटो हिँडेर आएका थिए । शव उद्धारका लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको डीएसपी थापाले बताए । लेक लागेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
