कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको झापा दौडाहा

पर्वत पोर्तेल

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली एक साताअघि वैशाख २० मा गृहजिल्ला झापा ओर्लिएका थिए । हल्दिबारी, दमक, मेचीनगरलगायत पालिकामा उनले आफ्ना उम्मेदवारका पक्षमा र गठबन्धनविरुद्ध चर्का भाषण गरेर राजधानी फर्किएका थिए । 

ओलीको झापा दौडाहा

हप्तादिन नबित्दै ओली सोमबार साँझ पुनः झापा ओर्लिए । पोखरा, ललितपुर, कीर्तिपुर र जावलाखेलको चुनावी सभालाई सम्बोधन गरेर झापा ओर्लिएलगत्तै उनी दमक पुगेका थिए । त्यहाँ उनले नेकपा एकीकृत समाजवादीबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका भुपनारायण राजवंशीलाई उम्मेदवारी फिर्ता गर्न लगाएर पार्टी प्रवेश गराए । मंगलबार उनले उत्तरी मोरङको मिक्लाजुङ, झापाको गौरीगञ्ज, कमल, दमक र गौरादहमा सम्बोधन गरेका थिए ।

दमकमा सम्बोधन गर्दै ओलीले एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धन बनेको जिकीर गरे । उनले थपे , ‘गठबन्धनले एमालेविरुद्ध घेराबन्दी गरेर निरन्तर झम्टिरहेको छ ।’ उनले अन्य पालिकाको सभामा पनि गठबन्धनविरुद्ध आगो ओकलेका थिए । दमकमा एमालेविरुद्ध कांग्रेस–माओवादी र राप्रपाले तालमेल गरेका छन् । दमकको हार र जित ओलीको राजनीतिक प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको छ ।

तीन दलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि यही गठजोडलाई निरन्तरता दिने भनी गरेको लिखित सम्झौताले ओलीलाई थप पीडाबोध भएको विश्लेषण गठबन्धन दलहरूको छ । माओवादीका नगर अध्यक्ष रवि बस्नेत भन्छन्, ‘नगरमा हारियो भने प्रदेश र प्रतिनिधिसभा पनि हारिन्छ कि भन्ने भित्री डर ओलीलाई लागेको छ ।’

यो ओलीको निर्वाचन क्षेत्र पनि हो । त्यही कारण दमकको हार र जितको नतिजाले प्रतिनिधिसभामा उनको सिट सुरक्षित हुने या नहुने निर्क्यौल गर्नेछ । ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए ।

‘चितवनमा जस्तै दमकमा पनि स्थानीय निकायको निर्वाचन रोचक मोडमा पुगेको छ’, स्थानीय रघुवीर बजगाई‌‌ भने,‘ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला भएकाले र एमालेलाई हराउन कांग्रेस, माओवादी राप्रपासँग मिलेकाले पनि दमकको माहोल रमाइलो बनेको छ ।’

एमालेकी गीताकुमारी अधिकारीविरुद्ध गठबन्धनले राप्रपाका राम थापालाई अघि सारेको छ । २०२७ सालदेखि नै पञ्चायती राजनीतिबाट उदाएका थापा शाहीकालका नगर प्रमुख पनि हुन् । अघिल्लो निर्वाचनमा दुई पटक एमालेकै उम्मेदवारसँग पराजित भएका थिए । थापा अघिल्लो निर्वाचनमा एक्लै चुनावमा भिडदा दोस्रो भएका थिए ।

प्रकाशित : वैशाख २७, २०७९ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?