मकवानपुर — स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३ हजार २ सय सुरक्षाकर्मी खटिएका हुन् । निर्वाचनलाई सुरक्षित तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिए ।
उनका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाइएको हो ।
‘मतदान केन्द्रभित्र सुरक्षा प्रदान गर्न प्रहरी खटिने र मतदान केन्द्र बाहिरा सेना खटाइनेछ ।’, उनका अनुसार बुधबारबाट मतदाता परिचय पत्र वितरण सुरु हुनेछ । ‘मतदाता परिचय पत्र वितरण र मतदानस्थल निर्माण कार्य सँगसँगै अगाडि बढाउने छौं,’ उनले भने ।
जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्लाका १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । यस पटकको निर्वाचनमा एउटा निर्वाचनस्थल थपिएको भएको हो । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।
जिल्लामा २ लाख ९ ४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रोलिङ्गी रहेको निर्वाचन आयोग वाग्मती प्रदेश कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगर पालिका रहेका छन् । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् ।
थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, वाग्मती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् ।
राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेका छन् ।
