नेताहरूका बीचमा सभ्य र सम्मानजनक संवाद हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

वैशाख २७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलका शीर्ष नेताहरूले स्थानीय तहको निर्वाचनमा धावा बोलिरहेको बताएका छन् ।

मंगलबार आम निर्वाचन पर्यवेक्षण समिति नेपाल र नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको स्थानीय तहको निर्वाचनको पूर्वनिर्वाचन वातावरणसम्बन्धी प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन् ।

स्थानीय निर्वाचनमा स्थानीय स्तरका सरोकार र समस्याको सम्बन्धमा छलफल गर्नुपर्ने भएपनि राजनीतिक दलका शीर्ष नेतृत्वहरुबाट स्थानीय निर्वाचनलाई थिचोमिचो गर्ने शैली अपनाइएको उनले बताए । स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र स्थानीय पहिचानलाई परिपोषण गर्नुपर्नेमा नेताहरुले त्यसलाई विस्थापित गरेको उनको भनाइ छ । 

दलका शीर्ष नेताहरुले वाकयुद्ध गरिरहेको पनि पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए । नेताहरूका बीचमा सभ्य, सम्मानजनक र जवाफदेही संवाद हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका निम्ति निर्वाचन स्वच्छ हुनुपर्ने बताइन् । उनले निर्वाचनमा उम्मेदवार र जनता अनुशासित भएमा दुईजना व्यक्तिले मात्रै हजारौा हजारको निर्वाचन गराउन सक्ने बताइन् । स्वच्छ निर्वाचन गराउन निर्वाचन आयोगले पहल गराउनुपर्ने र जनता पनि शिक्षित हुनुपर्ने उनको भनाइ छ ।  ‘निर्वाचनमा जनता पनि अनुशासित हुने हो । निर्वाचनमा उम्मेदवार पनि अनुशासित हुने हो । अनुशासनको वातावरण राम्रो भयो भने दुई जना व्यक्तिले हजारौँ हजारको निर्वाचन गराउन सक्छ,’ उनले भने, ‘त्यसमा एउटा मतदान अधिकृत र एउटा सहायकले गर्न सक्छ । हामीकहाा त सेना, प्रहरी, म्यादी प्रहरीको व्यवस्था गर्नु परेको देखिन्छ ।’

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)कि अध्यक्ष इन्दिरा श्रेष्ठले निर्वाचन आचारसंहिताको पालना गर्ने मुख्य दायित्व राजनीतिक दलको भएको बताइन् ।

कान्तिपुर

Link copied successfully