३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१
स्थानीय तह निर्वाचन

आज मध्यरातदेखि मौन अवधि

उल्लंघन गरे उम्मेदवारी नै रद्द हुनेदेखि एक लाख रूपैयाँ जरिवानासम्मको कारबाही
मातृका दाहाल

काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

आज मध्यरातदेखि मौन अवधि

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता र मापदण्ड उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याइने बताए । मौन अवधिका लागि जारी गरिएका निर्देशन पालना भए/नभएको निगरानी, नियमन र अनुगमन गर्न र आवश्यक परे उल्लंघनकर्तामाथि कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्रमार्फत अधिकार प्रत्यायोजन गरिएको पनि उनले जानकारी दिए । ‘मौन अवधिमा गर्न हुने र नहुने के–के हुन् भन्ने सबैलाई स्पष्टै छ । हामीले मौन अवधिमा पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिसकेका छौं,’ प्रमुख आयुक्त थपलियाले भने, ‘एक सचिव र डेढ दर्जन सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै संयन्त्रलाई मौन अवधिका गतिविधि अनुगमन र निगरानी तथा उल्लंघन भए ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याउने गरी विभिन्न जिल्लामा परिचालन गरेका छौं ।’

मौन अवधिमा मतदाता प्रभावित पार्ने दुष्प्रयास हुन सक्ने भन्दै आयोगले त्यसलाई रोक्न र त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सूचना संकलकका रूपमा सयभन्दा बढी स्थानमा ‘सूक्ष्म अनुगमनकर्ता’ खटाएको छ । कसैले मतदाता प्रभावित पार्न पैसा बाँड्नेलगायतका गतिविधि गरेको जानकारीमा आए आयोग, प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायतलाई तत्काल खबर गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाले आग्रह गरेका छन् ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ । ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

उपदफा २ मा निर्वाचन उल्लंघनसम्बन्धी उजुरीको छानबिनका क्रममा ‘जाँचबुझ एवं अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिए त्यस्तो कार्य तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने’ उल्लेख छ । त्यस्तो आदेश अटेरी गरे उम्मेदवार वा संघसंस्थालाई सफाइको मौका पेस गर्न आदेश दिइनेछ र त्यसबाट चित्तबुझ्दो जवाफ नआए उम्मेदवारी रद्द र जरिवाना गरिनेछ । उपदफा ४ मा उम्मेदवारले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्नेमा आयोग विश्वस्त भए स्पष्ट आधार र कारण खोलेर उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था छ । उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका भने दिनुपर्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लंघन भए/नभएको कडाइका साथ अनुगमन गरिने जानकारी दिए । उम्मेदवार र उनीहरूका फ्यानहरूका सामाजिक सञ्जालमा आचारसंहिताविपरीत ‘स्पोन्सर्ड पोस्ट’ हुन सक्ने भन्दै आयोगले मौन अवधि सुरु हुनुअगावै त्यस्ता सामग्री हटाउन र नयाँ पोस्ट नगर्न पनि निर्देशन दिएको छ । आयोगको निर्देशनविपरीत कुनै सामग्री पोस्ट भए/नभएको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल साम, दाम, दण्ड, भेद जे–जे लगाएर भए पनि निर्वाचन जित्नैपर्छ भन्ने प्रवृत्ति राजनीतिक दल र उम्मेदवारमा देखिएको बताउँछन् । त्यस्तो प्रवृत्ति मतदान हुनु केही दिनअघि व्यापक बन्ने गरेको छ ।

आयोगका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न पाइँदैन । मतदान स्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न पाइने छैन । त्यस्तो सामग्री राखिएको भए मौन अवधि सुरु हुनुअघि हटाउन आयोगले निर्देशन दिएको छ ।

मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न/गराउन पाइने छैन । ‘मौन अवधिमा कुनै पनि प्रचारप्रसार हुने म्यासेज प्रवाह हुन नदिने गरी व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छौं,’ आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले भने ।

आयोगको निर्देशनअनुसार मतदानका दिन शुक्रबार राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन पाइने छैन । उम्मेदवारको पहिचान देखिने सांकेतिक पोसाक, वस्तु लगाउन, बोक्न र देखाउन पनि पाइँदैन । कुनै पनि सवारी प्रयोग गरी आउजाउ गर्न वा कसैलाई लैजान वा ल्याउन पाइने छैन । सात महिनाभन्दा बढीकी गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि भने निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न बाधा पुग्ने छैन ।

मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान पाइने छैन । नशालु पदार्थ, मादक पदार्थ सेवन गरेर मतदानमा जान पाइँदैन । मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झूटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्न वा गराउन नपाइने निर्देशिकामा उल्लेख छ । राजनीतिक दलहरूबाट आफ्नो प्रभाव बढाउन इतरमा मतदान हुन सक्ने आकलन गरेर मतदातालाई मतदान प्रक्रियामै अवरोध गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा निकायले सूक्ष्म निगरानी बढाएका छन् ।

मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न रोक लगाइएको छ । मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइने छैन । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामलगायतका सञ्जाल प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न पनि नपाइने आयोगले जनाएको छ ।

मौन अवधिमा के गर्न पाइँदैन ?

-निर्वाचन प्रचारलगायत कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न

-मतदानस्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न

-सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न

प्रकाशित : वैशाख २७, २०७९ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?