मेरो प्रतिस्पर्धी मै हो : रजनी थापा [भिडियो]

वैशाख २६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — टोखा नगरपालिका काठमाडौं महानगरपालिकासँगै जोडिएको नगरपालिका हो । स्थानीय तहको निर्वाचनमा विभिन्न साना तथा ठूला दलहरूका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये कांग्रेसका तर्फबाट रजनी थापाले उम्मेदवारी दिएकी छन् । 

गत स्थानीय निर्वाचनमा कांग्रेसकै तर्फबाट उहाँले उपमेयर पदमा एमालेको उम्मेदवारसँग ५१ मतको अन्तरले पराजित भएकी थिइन् । थापाको उम्मेदवारी, एजेन्डा र योजनाबारे कान्तिपुर दैनिकका दीपेन्द्र विष्टले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले घरदैलो कार्यक्रम सिध्याउनुभयो ?

आज मेरो अन्तिम घरदैलो कार्यक्रम रहेको छ । त्यो टोखा नगरपालिकाको टोखामै रहेको छ ।

घरदैलो कार्यक्रममा मतदाताले तपाईंप्रति कस्तो अपेक्षा राखेका छन् ? 

विगतका दिनदेखि उहाँहरूसँग म निरन्तर काम गरिराखेको व्यक्ति हुँ । मलाई देखेर उहाँहरू एकदम खुसी हुनुहुन्छ । मेरो उम्मेदवारी पनि उहाँहरूको इच्छा, आकांक्षाअनुसार नै हो । यस अघिल्लो स्थानीयतहको निर्वाचनमा उपमेयरको उम्मेदवार बन्दाखेरी नै ‘हाम्रो टोखा, राम्रो टोखा’ मेरो नारा नै थियो । हाम्रो भन्नेबित्तिकै सबै जना अट्छन र राम्रो भन्नेबित्तिकै सबै विकासका कुरा आउँछन् । जसभित्र शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण विकासका कुरा आउँछन् ।  त्यसैले सबैजनाले मलाई हौसला दिएर अगाडि बढाइराख्नु भएको छ । 

मूलभूत रूपमा टोखावासीका लागि तपाईंले अघि सारेका एजेन्डा के–के छन् ?

युवा र महिला राजनीतिमा आउँदा भिजन, योजना, पूर्वाधार र तथ्यांकका साथ आउनपर्छ, त्यसले स्पष्ट  खाका दिन्छ, त्यो चाहिन्छ पनि, त्यसैअनुसार र्‍यान्डमली अघि बढ्छौं । म तीन प्रकारका विकासलाई अघि बढाउँछु । आँखाले देख्ने निरन्तर भइरहेको, त्यो विकास जीवन्त रहिरहनुपर्छ । अर्को कानले के सुन्न जसले मान्छेको जीवनस्तरमा सकारात्मक प्रभाव परिराखेको छ कि छैन भन्ने । त्यो सबैले  विकास भइरहेको महसुस गर्नु पर्‍यो । जसका कारण उहाँको जीवनस्तर हिजोभन्दा आज अलिकति सहज र सरल भइराखेको छ भने अनुभव होस् भन्ने हो । 

महिला र युवाको कुरा गर्नुभयो, उनीहरूको इच्छा र आकांक्षालाई कसरी प्रतिनिधित्व गर्नुहुन्छ ? 

म युवा र महिला त्यसमध्ये पनि पढेलेखेको महिला हो, मेरो आफ्नै पनि एजेन्डा रहेका छन् । हामी युवा जब कुनै कुरा बोल्छौँ र त्यो कुरा गर्छौं, त्यो पूर्वाधार र प्लानिङअनुसार अघि बढ्छौं । महिला सशक्तीकरणलाई अघि बढाउँछौं, महिला आत्मनिर्भर हुनपर्छ, महिला आफैमा पनि शिक्षित हुनपर्छ । महिला हक अघिकारको कुरा गर्दा टोखा नगरपालिकाका महिला २४ घण्टै निर्धक्क भएर डुल्न, खेल्न, हाँस्न सक्नुपर्छ  । त्यस्तो वातावरण म बनाउँछु । उहाँहरू आफ्ना लागि आफै कमाउन सक्ने हुनुपर्छ, त्यो वातावरण मेलै सिर्जना गर्छु ।  युवा र महिलाका लागि स्वरोजगारको वातारण बनाउनेछौं । हामी जुन कुरा गर्छौं त्यो कुराले संस्कार निर्माण  गर्छ । विकास भनेको पूर्वाधार निर्माणमात्र होइन, विकास भनेको सोचको पनि विकास हो । 

विकासका लागि पढाइ सबभन्दा ठूलो कुरा हो । शिक्षा व्यापक विकास हुनपर्छ भनेर मैले आफ्नो घोषणापत्रमा लेखेको छु । टोखा नगरपालिकामा स्तरीय शिक्षा दिन मोन्टेश्वरी शिक्षालाई नि:शुल्क व्यवस्था मिलाउँछौँ । टोखामा धेरै कुरा पाइन्छ । लन्डनमा नेपालबाट चाकु जान्छ । तर त्यो चाकु बनेको स्थान टोखा नभएर अन्तैको नाम लेखिएको थियो । चाकु भन्नेबित्तिकै टोखाको सम्पत्ति हो । त्यसलाई हामीले किन बजारीकरण नगर्ने ? मेरो अबको अभियान भनेको टोखा नगरपालिकाभित्रका युवा र महिलाई ५० प्रतिशत अनुदान दिएर चाकुको व्यवसाय गराउनु हो । त्यो हाम्रो धर्म, संस्कृतिसंग पनि जोडिएको छ । टोखामा चण्डेश्वरी मन्दिर छ, जसको सांस्कृतिक महत्त्व  छ, यसको व्यापक प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउन गाह्रो  छैन । 

टोखा काठमाडौं महानगरपालिकासँग जोडिएको र तीव्र सहरीकरण हुँदै गरेको नगरपालिका हो । यस्तोमा सडक, खानेपानी, शैक्षिक लगायतका अन्य पूर्वाधारलाई कसरी व्यवस्थित गर्नु हुन्छ ?

यसअघि मैले हारे पनि जितेका जनप्रतिनिधिले जनताको पक्षमा काम गर्छन् भन्ने लागेको थियो । तर त्यस्तो नभएको पाउँदा दु:ख लाग्यो । मैले घरदैलो सकेर मात्रै घोषणापत्र सार्वजनिक गरेकी हुँ । जनताका पीरमर्कालाई समेटेर घोषणापत्र निकालेकी छु । 

महानगरसँग जोडिएकै क्षेत्रमा बिजुलीका पोलसमेत छैनन् । भएका काठका पोल पनि मक्किइसकेका छन् । कतिबेला भाँचिने हो र दुर्घटना हुने हो भन्ने चिन्ता लाग्छ । यो त सानो उदाहरणमात्र हो, यस्ता समस्या त कति छन् कति ? ढलको राम्रो व्यवस्था छैन, वर्षामा पानी जमेर डुंगा चढ्नु पर्ने अवस्थाजस्तो छ । 

टोखामा गठबन्धन किन हुन नसकेको ? 

काठमाडौंको हकमा महानगरबाहेक धेरै स्थानमा गठबन्धन हुन सकेको छैन । मुख्य त केन्द्र र जिल्लास्तरको नेतालाई जिम्मा दिएको थियो । सायद उहाँहरूको निर्णयअनुसार नै गठबन्धन नगरेको हुनपर्छ । 

तपाईंको मुख्य प्रतिस्पर्धी को हो ? 

मेरो मुख्य प्रतिस्पर्धी म आफै हो । किनभने हिजो म उपमेयरको उम्मेदवार बन्दाखेरी म ५१ मत नपुग्दा चुनाव हारेकी थिएँ । आज त्यही व्यक्ति मेयरमा लड्दाखेरी त्यो ५१ अघि कम्तीमा चार अंक थप्ने कोसिस गर्दैछु, त्यसकारण म आफ्नो प्रतिस्पर्धी आफै हो । 

५ वर्ष टोखाको मेयर चलाएका व्यक्तिसँग चुनाव लड्दै हुनुहुन्छ । कस्तो चुनौती महसुस गर्नु भएको छ ?

जनताको मन जित्न गाह्रो छैन ।  उहाँले ५ वर्षमा कति मन जित्न सफल हुनु भएको छ ? मैलै काम गर्दा कति मन जितेँ, त्यसले पनि छुट्याउँछ । मैले ५ वर्षबाहिर बसेर पनि काम गरेकी छु, जनताको मनमा बसेकी छु, मतदाताले उचित मूल्यांकन गर्छन् ।

कान्तिपुर

Link copied successfully