संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै आठबीसकोटमा कांग्रेस-माओवादी झडप

वैशाख २६, २०७९

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकताबीच पुन: झडप भएको छ । झडपले नकारात्मक सन्देश गएको र मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै संयुक्त अपिल जारी भएको २४ घण्टा नबित्दै दुई पार्टीबीच पुन: झडप भएको हो । सोमबार फेरि आठबीसकोट नगरपालिका वडा नम्बर १०, मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो ।

झडपका क्रममा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ताले प्रचारप्रसारमा प्रयोग गरिरहेको एउटा मोटरसाइकल जलाइदिएका छन् । २ वटा मोटरसाइकल तोडफोड भएको र एउटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले झडपको क्रममा मान्छे भागभाग हुँदा सवारी साधनमा तोडफोड भएको बताए ।

लु १ ज २६६१ नम्बरको जिप, भे ७ प ३०६५ र भे ८ प ३६२० नम्बरको मोटरसाइकल तोडफोड भएको बताए । जलाइएको मोटरसाइकलको नम्बर भने खुलेको छैन । झडपपछि सवारी साधनमा क्षति पुगे पनि मान्छेलाई भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रचारप्रसारमा गएका आफ्ना कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको कांग्रसको आरोप छ । त्यसको विरोधमा कांग्रेस कार्यकर्ताले ९ नम्बर वडास्थित आठबीसकोट नगरपालिकाको कार्यालय तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । कार्यालय घेराउ गरिरहेकै समयमा प्रहरीले तितरबितर बनाएको र अहिले अवस्था सामान्य रहेको डीएसपी सोतीले बताए । 

आइतबार मात्रै दुवै दलले झडप नगर्ने, आ–आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दा उत्तेजक भाषण गर्ने, एक वडाका कार्यकर्ता अर्को वडामा नबोलाउने, नजाने र निर्वाचनलाई शान्तिपूर्ण बनाउने भन्दै अपिल जारी गरेका थिए । कांग्रेस सभापति प्रेमप्रकाश ओली र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले सयुंक्त रूपमा अपिल जारी गरेको २४ घण्टा बित्न नपाउँदै दुवै पक्षका कार्यकर्ता झडपमा उत्रिएका हुन् । 

कांग्रेस जिल्ला सभापति ओलीले माओवादीले उग्र र उच्छृङखल व्यवहार प्रस्तुत गर्न नछाडेको बताए । सहमति र छलफलको मर्मवितपरीत माओवादी कार्यकर्ता गइरहेको ओलीको आरोप छ । माओवादीले भने आफ्ना कार्यकर्ता बसेको ठाउँमा कांग्रेस कार्यकर्ताले माथिबाट ढुंगामुढा गरेको बताएको छ ।

माओवादी जिल्ला संयोजक रोकाले संमयमता अपनाउदा अपनाउँदै समस्या भइरहेको र त्यसलाई थप बढ्न नदिने बताए । दुवै पार्टीले जारी गरेको अपिल तलसम्म पुग्ने गरी र त्यसको मर्मबारे सबैलाई स्पस्ट बनाउनुपर्ने रोकाको भनाइ छ । 

हरि

Link copied successfully