भैरहवा — नेकपा (एकीकृत समाजवादी)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा जोड दिएको छ ।
भैरहवामा शुक्रबार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै समाजवादीका तर्फबाट सिद्धार्थनगर नगरपालिकामा प्रमुख पदका प्रत्यासी थम्मन पुनले आफू विजय भएमा पूर्वाधार विकास, फोहोरमैला, पार्किङ व्यवस्थापन र भ्रष्टाचारमुक्त नगर बनाउन जोड दिने बताए । त्यसका लागि उनले ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रमुख प्रत्याशी पुनले आफूले जे गर्न सकिन्छ, त्यही कुरामात्र प्रतिबद्धता पत्रमा समेटेको जानकारी दिए । ‘मुख्य समस्याका रुपमा रहेको फोहोरमैला व्यवस्थापनका लागि फोहोर प्रशोधन उद्योगलाई प्राथमिकतामा राखिएको छ,’उनले भने, ‘पर्यटन सिद्धार्थनगरको समृद्धिको मूल आधार भएकाले यसको विकासमा ध्यान दिनेछु ।’
कृषि र उद्योग क्षेत्रको विकास गरेर स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । नगरको मुख्य समस्याका रुपमा रहेको पार्किङ व्यवस्थापनमा ध्यान दिने बताए । ‘नयाँ बन्ने पूर्वाधारमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था मिलाइने छ,’उनले भने, ‘नगर विकासमा निजी क्षेत्र, सामाजिक संघसंस्था, नागरिक समाज, टोल सुधार समिति, आमा समूहहरुजस्ता संघ संगठनको समन्वय, सहकार्य, सहअस्तित्व र संस्कृतिको विकासमा जोड दिइनेछ ।’
