भरतपुरको विकासमा कास्टिङ भइसक्यो, फिल्म देखाउँन बाँकी छ : दाहाल 

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले भरतपुरमा विकासको सुरुवात भएको बताएकी छन् । उनले समग्र विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा आएको बताएकी छन् । 

सत्तारुढ गठबन्धनले भरतपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक बत्तीका क्षेत्रमा राम्रो काम भएको बताएकी छन् ।

उनले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन् । उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने पनि बताइन् । उनले भनिन्, 'पूर्वाधारक क्षेत्रमा कास्टिङ भइसकेको छ, अब फिल्म देखाउन बाँकी छ ।' 

आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र आगामी कार्यकालका लागि निर्वाचित भएर आएमा थप लगानी गर्ने उनको प्रतिबद्धता थियो । 'पाँच वर्षको समग्र मूल्यांकन गर्दा सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढाएका छौं । महानगरको बजेटको १५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगाएका छौं,' उनले भनिन्, 'पौने चार अर्बको खानेपानी आयोजना अगाडि बढाएका छौं । देशकै हेर्न लायक र गर्व गर्न लायक महानगर बनाउन अन्तर्राष्ट्रिय मापदण्डको सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण भइरहेको छ । नारायणीको तटबन्धन दिगो र भरपर्दो बनाएर अगाडि बढाइएको छ । त्यसलाई पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढाएका छौं ।'

दाहालले अघिल्लो कार्यकालमा आफूले जानाजान गल्ती नगरेको र अन्जानमा भएका गल्ती नदोहोर्‍याउने बताएन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully