बाहुनडाँगी (झापा) — मेचीनगर ४ आलडाँगीका ७३ वर्षीय श्यामकुमार तामाङले हात्तीसँग पौठेजोरी खेल्न थालेको चार दशक नाघिसक्यो । लामो समयदेखि हात्तीको प्रताडन सहदै आएका तामाङ भोट माग्न आउने नेताहरुलाई सोध्न थालेका छन्,‘हात्तीको समस्या हामीले अझै कतिन्जेल भोग्नु पर्ने हो ?’
यो तामाङको मात्रै हैन, सिंगो बाहुनडाँगीबासीको साझा समस्या हो । यही समस्यालाई भजाएर धेरै नेताहरुले चुनाव जितेका छन् । तर, बाहुनडाँगीबासीको समस्या ज्यूँकात्यूँ छ । ‘हाम्रो समस्या सबै नेतालाई थाहै छ’, तामाङ गुनासो पोख्छन्, ‘चुनाव अघि समस्या हल गर्छु भन्छन, चुनाव सक्किने बित्तिकै वाचा भुल्छन्।’
अघिल्लो पटकको स्थानीय तह, प्रदेश र संघको चुनावका उम्मेदवारहरुले हात्तीलाई तह लगाउने बाचा गरेका थिए । तर, चुनावपछि उनीहरु फर्किएर पनि आएनन् । माओवादीबाट प्रतिनिधिसभा निर्वाचन जितेका नेता राम कार्कीले त एउटा चुनावी सभामै सांकेतिक रुपमा भनेका थिए, ‘अब बाहुनडाँगीको हात्ती हेर्न चिडियाखाना जानु पर्छ ।’ तर, पाँच वर्ष बित्दा पनि उनले अभिव्यक्त गरेको भनाई पुरा भएन । ‘रात परेपछि भारतबाट हात्तीको हन्जा गाउँ छिर्न थाल्छन्’, दलबहादुर कार्की भन्छन्,‘चिडियाखाना त हाम्रो लागि यही छ ।’
खास गरी मेचीनगरको १, २, ३ र ४ हात्ती प्रभावित वडा हुन् । बाहुनडाँगीको मुख्य समस्या भनेकै हात्ती आंतक हो । हात्ती समस्याको दिगो समाधान गर्ने पार्टीका उम्मेद्वारलाई मात्रै भोट दिने मतदाताहरुको अडान छ । नगरपालिकाले त हात्ती समस्या कम गर्न कुनै कार्यक्रमसम्म नल्याएको उनीहरुको गुनासो छ । ‘धुलाम्मे सडक कालोपत्रे भयो, पानीको समस्या पनि हल भयो’, वृद्ध कृष्णमाया खत्रीको प्रश्न छ, ‘हात्तीको समस्या हल गर्न नेताहरुलाई केले रोक्यो ?’
करिव ४ विगाहा जमीन अधिँया जोतभोग गर्दै आएकी कृष्णमायाले हात्तीकै कारण जमीन छाडनु पर्यो । ‘हात्तीले गर्दा दुई वर्ष अघि त एक दानो अन्न पनि उठाउन पाइएन’, उनले थपिन्,‘सँधै यस्तो कसरी सहनु भन्ने लागेर खेती नै छाडियो ।’
हात्तीका कारण धेरै किसानहरुले धान खेती मासेर चिया सुरु गरेका छन्। तर, चियाको उचित भाउ नपाउँदा थप पीडा सहनु परेको छ । नेताहरु मजदुर, किसानका समस्याप्रति सँधै बेखबर बन्ने गरेको आरोप उनीहरुको छ। चिया किसान मीनबहादुर कार्की भन्छन्,‘चिया उत्पादनमा लागत बढेको बढ्यै छ, तर भाउ भने पाउन सकिएको छैन ।’ नगरपालिकाले पीडित किसानहरुलाई उचित अनुदान उपलव्ध गराउर्ने पर्ने माग उनीहरुको छ ।
अहिले पनि हात्ती आतंक जारी छ । स्थानीयवासी चयनसँग निदाउन पाएका छैनन् । साँझ पर्न नपाउँदै मेची तरेर भित्रिने हात्तीले आतंक मच्चाइरहेको छ । हात्ती आतंक रोक्न गत वर्ष विश्व वैंकको सहयोगमा सरकारले झन्डै २ करोड रुपैयाँ खर्चिएर विद्युतीय तारवार गरेको छ । तर, अहिले यो पनि प्रभावहीन जस्तै बन्दै गएको स्थानीयको भनाई छ । ‘तारवारले रोकेको भए हात्ती कहाँबाट छिरिरहेको छ ?’, स्थानीय विमल खड्काको प्रश्न छ,‘कुनै हालतमा हात्ती नियन्त्रण भएको छैन ।’ उनका अनुसार हात्ती रोक्न बनाइएको तारबार अहिले लथालिंग छ । सोलारको ब्याट्री काम नलाग्ने अवस्थामा छ । तारहरु काटिने, चोरिने क्रम जारी छ । ‘यत्रो खर्च भएर संरचना बनेको छ तर यसको संरक्षणमा न नगर पालिका लागेको छ, नत वडा कार्यालय नै’, खडका भन्छन्।
स्थानीयवासीले बाहुनडाँगीलाई हात्ती प्रकोप क्षेत्र घोषणा गर्न पहिल्यै माग गरेका थिए । तर, त्यो समेत घोषणा गर्न जनप्रतिनिधिहरु चुकेको आरोप उनीहरुको छ ।
लामो समयदेखि हात्ती आतंक नियन्त्रणको क्षेत्रमा सक्रिय स्थानीय अर्जुन कार्की एमालेबाट वडा नम्वर ४ को अध्यक्षको उम्मेदवार बनेका छन्। उनको उम्मेदवारीपछि स्थानीय मतदाता आशावादी बनेका छन् । ‘हात्ती समस्यालाई नजिकबाट बुझेको मान्छे चुनावमा उठेका छन्’, स्थानीय शंकर लुइटेलले भने,‘हात्ती समस्याको दीर्घकालीन रोकथामका लागि उनले कस्तो भूमिका खेल्छन् त्यो हेर्न बाँकी नै छ ।’
