चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिनुपर्छ : गुरुङ

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । गुरुङले चुनाव सकिएपछि र पद प्राप्त भएपछि गठबन्धन तोड्ने परम्परा हट्नुपर्ने बताएका छन् ।

'गठबन्धनको निरन्तरता हुनुपर्‍यो । चुनाव र पद प्राप्तिका लागि गठबन्धन गर्ने तर  चुनाव सिद्धियो, पद प्राप्त भइसकेपछि गठबन्धन भ‌ंग भयो भने मजस्ता कार्यकर्तालाई विश्वास गर्न गाह्रो हुन्छ । त्यसैले गठबन्धनका नेताहरूले यसमा ध्यान दिनुपर्छ,' उनले भने । 

बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले टिकट बाँडफाँडमा कतिपयलाई मर्का परेको भए पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

त्यस्तै गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल र पाका नेता कृष्णलाल सापकोटासँग शीर्ष नेताले छलफल गर्नुपर्ने पनि बताए । कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी मनोनयनअघि नै पौडेललगायतका असन्तुष्ट नेतासँग छलफल गर्न चुकेको उनको भनाइ थियो ।

बिहीबारको सभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेता सहभागी छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully