पालुङटारमा कांग्रेस र जसपाबीच पनि तालमेल नहुने

वैशाख २१, २०७९

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिकामा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । केन्द्रबाट जनता समाजवादी पार्टी(जसपा) र कांग्रेसबीच तालमेल गर्ने सहमति भए पनि स्थानीय स्तरमा सहमति जुट्न नसकेको हो । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नगरपालिकामा तालमेल गर्ने सहमति भएको थियो । 

शीर्ष नेताको सहमतिअनुसार पालुङटारको मेयरमा जसपाका उमेदवार प्रेम गुरुङलाई कांग्रेसले सघाउने गरी तालमेलका प्रयास भएको थियो । तर केन्द्रमा भएको सहमति जिल्ला स्तरमा भने कार्यान्वयन नहुने अवस्था उत्पन्न भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पालुङटार नगरपालिकामा कांग्रेस एकल रूपमा निर्वाचनमा जाने बताएका हुन् । 

दुवै दलका नेता कार्यकर्ताले एकल रूपमा नै निर्वाचनमा जाने राय दिएकाले दुवै दल एक्लाएक्लै निर्वाचनमा जाने सभापति न्यौपानेले बताए । मेयर, उपमेरलगायतका सबै वडाका उमेदवारलाई निर्वाचन प्रचारमा जुट्न पनि न्यौपानले आग्रह गरेका छन् । 

वडा तहसम्म तालमलेल गरी संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको हो । केन्द्रमा दुई दलबीच तालमेलको सहमति भएसँगै कांग्रेस उम्मेदवार दीपकबाबु कँडेललाई उमेदवारी निष्क्रिय बनाउन दबाब बढेको थियो । 

पालुङटारको नगर प्रमुख पदमा कांग्रेसबाट कँडेल, जसपाबाट गुरुङ, नेकपा माओवादी केन्द्रबाट विवश चिन्तन र नेकपा एमालेबाट हरि भट्ट उम्मेदवार छन् । पालुङटारमा सक्ता गठबन्धनभित्रकै जसपा र नेपाली कांग्रेसबीच तालमेलका लागि देउवा र भट्टराईले आन्तरिक सहमति गरेका हुन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको दिन जसपा अध्यक्ष भट्टराईले कांग्रेस सभापति देउवालाई गृहनगर पालुङटारको प्रमुखमा जसपाका उम्मेदवारलाई साझा बनाउन आग्रह गरेका थिए । 

केन्द्रमा देउवासँग कुराकानीपछि जसपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी नारायणी अधिकारीले भने उम्मेदवारी फिर्ता लिएकी छन् । पालुङटारको उपप्रमुखमा कांग्रेसका तर्फबाट भने चेतकुमारी श्रेष्ठ उम्मेदवार छिन् । जिल्लामा सत्तारूढ दलबीच भागबन्डा नमिलेपछि चुनावी तालमेल भाँडिएको थियो ।

बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको प्रमुख पदको उम्मेदवारीलाई जसपाले ‘बटमलाइन’ बनाउँदै आएको थियो । तालमेल भाँडिएपछि भने ११ वटै पालिकामा सत्तारूढ दलले एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका हुन् ।


स्थानीय तह निर्वाचन २०७९

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully