उनी भन्छन् ‘चुनावमा मेरो मूल मुद्दा नै भ्रष्टाचार विरुद्ध’
काँकडभिट्टा — झापा, धुलाबारीका भरोसा दास पौडेल (भगवान भरोसा), नगरमा हुने कुनै पनि संघ–संस्थाको चुनावमा उम्मेदवारी दिन छुटाउँदैनन् । खानेपानी उपभोक्ता समिति होस् या उद्योग वाणिज्य संघको निर्वाचन, उम्मेदवारी दिन अग्रसर भइहाल्छन् ।
अधिकांश निर्वाचनमा पराजित हुन्छन् । तर पनि हरेश खाँदैनन् । बरु अर्को चुनाव आयो कि उम्मेदवारी दिन आतुर हुन्छन् । २०५४ देखि निरन्तर चुनावी मैदान होमिदै आएका नेकपा मालेका नेता भरोसा दासले यसपटक मेचीनगरको प्रमुखमा उम्मेदवारी दिएका छन् । नगरमा मालेको जनाधार गतिलो त छैन । आफ्नो भ्रष्टाचार विरोधी अभियानप्रति मतदाताले विश्वास गरेर मत दिने उनको दाबी छ ।
०५४ को स्थानीय निकाय निर्वाचनमा रविन कोइरालाले मेचीनगरको प्रमुख जित्दा उनी नगर परिषद् सदस्यमा मनोनित भएका थिए । २०७४ को निर्वाचनमा प्रदेश सदस्यमा उम्मेदवारी दिएका उनी चौथो भएका थिए । संघ–संस्थाका निर्वाचनमा पनि उनी बाक्लै सहभागी हुन्छन् । ‘अहिलेसम्म ७/८ पटक उम्मेदवार भइसके’,उनी भन्छन्, ‘हार, जित भइरहन्छ मलाई त्यो कुराले कुनै असर गर्दैन ।’
नजिते पनि निरन्तर चुनावी मैदानमा होमिइरहने भरोसा दास यतिबेला मेचीनगरको प्रमुख बन्ने दौडधुपमा छन् । रोचक कुरा त के भने अन्य दलका उम्मेदवार दलबलसहित रंगिन चुनावी प्रचारमा व्यस्त छन् । गाडीको लावालस्कर छ । उनी भने छोरा जनार्दनसँग पैदलै घरदैलोमा रमाइरहेका छन् । बाबु–छोराको एक/एक हातमा हसिया र तारा अंकित झण्डा छ । अर्को हातमा साधारण पर्चा ।
मतदातालाई उनी त्यही पर्चा थमाउँछन् र आफ्ना एजेण्डा सुनाउँछन् । मूलतः उनी आफूलाई भ्रष्टाचार विरोधी अभियानका अभियन्ता पनि ठान्छन् । ‘चुनावमा मेरो मूल मुद्दा नै भ्रष्टाचार विरुद्ध छ’, भोट माग्दै गर्दा काँकडभिट्टा बजारमा भेटिएका उनले भने,‘नेपाली राजनीतिको क्यान्सर यही भ्रष्टाचार हो, त्यसैलाई निर्मुल गर्ने वाचासहित मत मागिरहेको छु ।’
उम्मेदवारबीच अपारदर्शी खर्च गर्ने होड चलिरहेका बेला उनी थोरै खर्चमा चुनाव प्रचार गरिरहेका छन् । पैदलै प्रचारप्रसार हिँडदा खर्च हुँदैन । न कार्यकर्ताको भट्टीको बिल तिर्नुपर्छ, नत पेट्रोलको खर्च नै । ‘चुनावका नाममा फजुल खर्च गर्ने मेरो हैसियत छैन’, भरोसादासले थपे,‘चुनाव खर्चिलो हुँदा जितेर जानेले भ्रष्टाचार गर्ने निश्चित हुन्छ ।’
लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय उनी जनआन्दोलन २०६२–६३ का घाइते पनि हुन् । वैशाख ६ मा चन्द्रगढीमा भएको विरोध प्रदर्शनमा दुई जना सहिद बन्दा धेरै आन्दोलनकारीसँगै उनी गोली लागेर ढलेका थिए । नगर प्रमुखमा विजयी भएमा जनप्रतिनिधि एवं कर्मचारीको मिलेमतोमा फस्टाएको भ्रष्टाचार र बेथिति पूर्ण रुपमा निर्मुल पार्ने उनको लक्ष्य छ ।
