देउवा, दाहाल, नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने

वैशाख २०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नीय तह निर्वाचनमा प्रतिष्ठाको लडाइको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासम्मले बिहीबार आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव तथा सांसद कृष्णप्रसाद पौडेलका अनुसार चितवनको भरतपुरमा बिहीबार आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय केन्द्रीय सदस्य शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार उक्त सभा गर्न लागिएको उनको भनाइ छ । 

पाँचदलीय लोकतान्त्रिक गठबन्धनले आयोजना गर्ने उक्त सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । साझा बसपार्कमा ११ बजे चुनावी सभा हुने आयोजकले जानकारी दिएको छ । 

भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयरमा माओवादी नेतृ रेणु दाहाल र उपमेयरमा कांग्रेसका नेता चित्रसेन अधिकारी उम्मेदवार छन् । दाहाल माओवादी अध्यक्ष दाहालकी छोरी पनि हुन् । 

कांग्रेसका जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दर्ता गराउँदा गठबन्धनलाई चुनौती छ । त्यस्तै, एमालेका विजय सुवेदी पनि भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार छन् । 

सत्तारुढ गठबन्धनले काठमाडौं, भरतपुरलगायत देशका ठूला सहरमा सामूहिक चुनावी सभा गर्ने बताएको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully