सत्तारुढ पार्टीबाट आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको छ : गुरुङ

काठमाडौँ — सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।

सत्तारुढ दलहरुबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भइरहेको बताएका हुन् । मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति नभए पनि एमालेप्रति संकेत गर्दै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हाबी हुन नदिन आफूहरु सचेत रहेको उनको भनाइ थियो ।
संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्कसमेत गरे ।
‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संसद् छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं । कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफनो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ । कथंकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढन तयार छौं,’ उनले भने ।
प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए ।
