ओखलढुंगामा कांग्रेस र माओवादीबीच गठबन्धन

वैशाख १०, २०७९

कुम्भराज राई

ओखलढुंगा — सत्तारुढ दलबीचमा सहमति हुन नसकेपछि जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचमा दुई दलीय गठबन्धन हुने भएको छ ।एकीकृत समाजवादी र जनता समाजवादीलगायतसँग कुरा नमिलेपछि दुई दलीय गठबन्धन हुने भएको हो ।

दुईदलीय गठबन्धनमा पनि जम्मा आठ स्थानीय तहमध्ये लिखु गाउँपालिकाको टुंगो लागेको छैन । माओवादी केन्द्रबाट बाबुराम गौतम र नेपाली कांग्रेसबाट अशोक कार्कीले प्रमुख पदको दाबी गरेपछि दुवै पार्टीले केन्द्रलाई अन्तिम अधिकार दिने निर्णय गरेको थियो ।

माओवादी केन्द्रलाई चिशंखुगढी गाउँपालिकामा अध्यक्ष र चम्पादेवी गाउँपालिका, मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिका गरी तीन स्थानीय तहमा उपाध्यक्ष दिने सर्तमा गठबन्धन हुने भएको हो । लिखु गाउँपालिकामा गठबन्धन बीचमै सहमति गराउने प्रयास भइरहेको माओवादीका एक नेताले बताए ।

उनका अनुसार माओवादीकै उम्मेदवारलाई सहमत गराउन अध्यक्ष पुष्पकमल दाहाल आफै लागि परेका छन् । तर नेपाली कांग्रेसबाट अध्यक्षका दाबी गरेका उम्मेदवारहरुले एक्लाएक्लै भए पनि चुनाव लड्ने तयारी गरेको जनाएका छन् । 

एकीकृत समाजवादी र जनता समाजवादीको माग पूरा नहुने भएपछि गठबन्धनबीचमा छलफल टुंगिएको छ । उनीहरुले पनि कम्तीमा एक जना अध्यक्ष र एकजना उपाध्यक्ष पाउनुपर्ने दाबी गरेका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कुम्भराज

Link copied successfully