काठमाडौँ — सन् १९८९ मा आजकै दिन (अप्रिल २८) मा सलमान रुस्दीको पुस्तक ‘द सटानिकभर्सेस’ को बिक्रीको विरोधमा इरानमा बृहत् प्रदर्शन गरिएको थियो । १९८८ को सेप्टेम्बरमा प्रकाशित पुस्तकमा ईश्वर निन्दा गरिएको भन्दै मुस्लिम समुदाय आन्दोलित भएका थिए ।
जसका कारण सुरुमा भारत र त्यसपछि पाकिस्तान, दक्षिण अफ्रिका र अन्य धेरै इस्लामिक देशहरूले उक्त पुस्तकलाई प्रतिबन्ध लगाएका थिए । सन् १९८८ मा लेखेको पुस्तकका कारण रुस्दी ९ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए ।
‘द सटानिक भर्सेस’ प्रकाशित भएपछि रुस्दीले ज्यान मार्ने धम्की सामना गरेका थिए । पुस्तक प्रकाशनको एक वर्षपछि इरानी सर्वोच्च नेता आयतोल्लाह खोमेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरेका थिए । उनले रुस्दीको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए ।
पुस्तक प्रकाशित भएपछि भएका हिंसात्मक प्रदर्शनमा अनुवादकसहित कम्तीमा २२ जनाले ज्यान गुमाइसकेका छन् । रुस्दीमाथि २०२२ को अगस्टमा अमेरिकामा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते रुस्दी भेन्टिलेटरमा गरिएको उपचारपछि निको भएका हुन् ।
