राजनीतिक दलहरु चुनावका लागि तयार देखिएसँगै कोशी प्रदेशमा स्थानीय नेताकार्यकर्ता र मतदाता आगामी निर्वाचनका लागि उत्साहित देखिएका छन् ।
What you should know
झापा, खोटाङ, पाँचथर, ताप्लेजुङ र विराटनगर — सरकारले आगामी फागुन २१ मा तय गरेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन शुक्रबारसम्म २१ नयाँसहित १ सय ३९ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
१ सय ८ पुरानासहितका पार्टीले निर्वाचनमा भाग लिन दल गरेसँगै राजनीतिक दलहरु चुनावका लागि तयार भएको सन्देश दिएकाे छ । निर्वाचनकाे समय नजिकिएसँगै कोशी प्रदेशमा जिल्ला र पालिका तहका नेताकार्यकर्ता सँगै मतदाताहरु उत्साहित देखिएका छन् ।
जेन-जी आन्दोलनपछि बनेको सरकारलाई असंवैधानिक भन्दै निर्वाचनमा नजाने बताउँदै आएको एमाले कार्यकर्ता समेत फागुन २१ काे निर्वाचनप्रति सकारात्मक बन्दै गएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेताकार्यकर्ता आमनिर्वाचनमा भाग लिनैपर्ने अडानमा देखिन्छन् ।
बिर्तामोड नगरपालिका–३ का एमाले अध्यक्ष कोशिष घिमिरे नेतृत्वले जे भने पनि निर्वाचनको माहोल तयार भइसकेको बताउँछन् । ‘चुनावी वातावरण बनिसकेको छ । पार्टीले भाग नलिने भन्ने सवाल नै उठ्दैन,’ उनी भन्छन्,‘कार्यकर्ताकाे मनोबल उच्च छ अहिले ।’
पूर्वको सहरी क्षेत्रमा मात्रै नभइ ग्रामीण भेगमा पनि निर्वाचनको चहलपहल सुरु हुन थालेको छ । झापा गाउँपालिका–२ का कांग्रेस सभापति द्वारिका खतिवडाले निर्वाचनलक्षित गतिविधि संचालन गर्न पार्टीको केन्द्रीय निर्देशन पर्खेर बसेको बताए । ‘हामी तयारी अवस्थामै छौं, मात्रै केन्द्रको निर्देशन कुरेर बसेका छौं ।’
यता माओवादीका स्थानीय संरचनाले एकतापछिको पृष्ठभूमिमा निर्वाचनको तयारी अघि बढाएको मेचीनगर–२ का स्थानीय नेता गोपी रिजाल बताउँछन् । उनका अनुसार चुनावका लागि सिंगो पार्टी र नेता कार्यकर्ता एक ढिक्का भएर लागेका छन् । ‘चुनाव जसरी पनि गर्नैपर्छ,’ उनी भन्छन्,‘नयाँ जनादेशमार्फत देशलाई अघि बढाउनुको विकल्प छैन ।’
उता, खोटाङमा दलहरु आमनिर्वाचन भन्दा पनि पार्टीको आन्तरिक लफडामै अल्झिएका छन् । कांग्रेस सबैभन्दा बढी अनिश्चयको बन्दी बनेको छ । जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेपछि नेतृत्व रिक्त छ । त्यसले जिल्लामा कांग्रेसको सांगठनिक गतिविधि लगभग शून्य छ । ‘सांगठनिक काम कार्वाही पूर्णरूपमा ठप्प छ भन्दा पनि हुन्छ’, उपसभापति इवन राई भन्छन् । कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार पुराना नेताहरू समेत कार्यकारी भूमिकामा नभएपछि खोटाङ कांग्रेस ‘निष्क्रिय’ जस्तै बनेको छ ।
एमाले भने ‘चुनावी वातावरण छैन’ भन्दै आए पनि संगठन बलियो बनाउन केन्द्रित देखिएको छ । केन्द्रबाट आउने निर्देशन अनुसार काम गर्न नेता कार्यकर्ता ‘अलर्ट’ बसेको जिल्ला इञ्चार्ज विशाल भट्टराई बताउँछन् । उनले भने, ‘असंवैधानिक सरकारले चुनाव गराउनै सक्दैन, वातावरण नै छैन । प्रतिनिधिसभा पुनःस्थापना र संविधान संशोधनपछि मात्रै छरितो निर्वाचन हुन सक्छ ।’
नेपाली कम्युनिष्ट पार्टीले समेत स्थानीय संरचनामा केन्द्रबाट एकताको खाका नआएकाले औपचारिक तयारी अझै थालिनसकेको जनाएको छ । खोटाङमा राप्रपा, जसपा नेपाललगायतका दल पनि चुनावी रूपमा सक्रिय देखिएका छैनन् ।
हिमाली जिल्ला ताप्लेजुङमा एमाले नेताहरू प्रतिनिधिसभा निर्वाचन भन्दा पनि महाधिवेशन प्रतिनिधि चयनमा बढी चासो देखाइरहेका छन् । जिल्ला सचिव सन्तोष चाम्लिङ भन्छन्,‘संसद पुनःस्थापनाको विषय उठिरहेको छ, त्यसैले अहिले नेतृत्वको ध्यान महाधिवेशनमै छ, चुनावी चासो खासै छैन ।’
कांग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङलाई पनि चुनावभन्दा पार्टीमा देखिएको महाधिवेशनबारे बढी चासो छ । नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता भने जिल्ला संरचना टुंगो नलागेकाले केन्द्रको निर्देशन पर्खिरहेका छन् । जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री भन्छन्,‘चुनावमा त जानै पर्छ, आयोगमा सबै दल दर्ता भइसकेकाले वातावरण क्रमशः बन्छ ।’ नयाँ राजनीतिक संगठन निर्माणमा जुटेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति फार्टी आक्रामक ढंगले संगठन विस्तारमा सत्रिय देखिएको छ । यहाँका विभिन्न पहिचानवादी समूह पनि निर्वाचन केन्द्रित भएर आपसी संवादमा छन् ।
पाँचथरमा सडकदेखि चुलोचौकासम्म चुनावी चर्चा सुरु भइसकेको छ । जेन्जी आन्दोलनपछि बनेका नयाँ समूहले पुराना दलको संरचना भत्काउने अभियान चलाइरहेका छन् । कांग्रेस जिल्ला सभापति रुपनारायण जबेगू भन्छन्,‘तल्लो तहका संरचना चुनावका लागि तयार छन्, तर केन्द्रमा ‘नियमित कि विशेष महाधिवेशन ?’ भन्ने अनिश्चितताले तयारीमा असर पारेको छ ।’
एमाले पाँचथर अध्यक्ष विष्णुप्रसाद सापकोटा (बिमल) का अनुसार महाधिवेशन प्रतिनिधि छनोटसँगै गाउँ तहसम्म परिणाम सुधार्ने गरी तयारी चलिरहेको छ । ‘महाधिवेशनपछि अझै घनिभूत रूपमा चुनावमा लाग्छौं’, सापकोटा भन्छन्,‘चुनावमा भाग लिनै पर्छ । भागेर निकास हुन्न ।’ नेपाली कम्युनिष्ट पार्टी जिल्ला–जिल्लामा एकता अभियानमै केन्द्रित छ । जिल्ला संयोजक विशाल रसाइली भन्छन्,‘एकता टुंगिएपछि औपचारिक चुनावी अभियान सुरु गर्छौं, त्यसपछि प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन्छौं ।’
रास्वपाले समानुपातिक उम्मेदवारका लागि आवेदन संकलन गरिरहेको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टी पहाडी जिल्लामा तीव्र प्रचारमा छ । उज्यालो नेपाल पार्टीले पनि संगठन विस्तार तीव्र बनाएको छ । पहिचानवादी मोर्चा, लिम्बुवान र जसपाका कार्यकर्ताको ठूलो हिस्सा भने कुन पार्टीमा जाने ? भन्ने दोधारमा देखिएका छन् ।
काेशीमा नयाँ दलहरूमा प्रवेशको लहर पनि देखिएको छ । धेरैजसो नेता पुराना दल छाडेर नयाँ शक्तितिर मोडिन थालेका छन् । निर्वाचन आयोगमा जेन-जीका समूहहरू छुट्टाछुट्टै दलमा आवद्ध देखिन थालेपछि पाँचथरका युवा भने दोधारमा देखिन्छन् । जेन-जी युनाइटेड, परिवर्तन समूह, पाँचथर जेन-जी जस्ता समूहहरू आपसी समीक्षामा व्यस्त छन् । जेनजी युनाइटेडका संयोजक राकेश राई भन्छन्,‘सहिदको सम्मान र आन्दोलनको मर्मका लागि जेन-जी एक हुनैपर्छ, तर सबैलाई एक ठाउँमा ल्याउने वातावरण अझै बनेको छैन ।’
काेशीकाे राजधानी विराटनगरमा दलका नेता–कार्यकर्ताभन्दा पनि मतदाता बढी उत्साहित देखिन्छन् । विराटनगर–१ का ६० वर्षीय मोहम्मद वसिर मियाँ कांग्रेसका पुराना समर्थक हुन् । जेन-जी आन्दोलनपछि पुराना दलहरूलाई ठूलो झट्का लागेको भन्दै मियाँ भन्छन्, ‘अब एक पटक जनताले दलहरुलई सुध्रिने मौका दिन्छन्, त्यसपछि भने के हुन्छ भन्न सकिँदैन ।’
विराटनगर महानगरसँग जोडिएको कटहरी गाउँपालिकाकी रेवन्ती देवी मण्डल पनि मत दिन उत्तिकै उत्साहित छिन् । उनी नेताहरूतर्फ फर्केर भन्छिन्, ‘हामी त भोट हाल्न तयार छौं, नेताहरू तपाईहरू उम्मेद्वार बन्न तयार हुनुहुन्छ ?’
कांग्रेस विराटनगर महानगरका सभापति दीपक चापागाईंका अनुसार पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरूमा चुनावप्रतिको चासो बढ्न सकेकाे छैन । उनी भन्छन्, ‘दल दर्ता त भयो, तर चुनावमा जाने उत्साह नेता–कार्यकर्तामा खासै देखिएको छैन । पुरानै कांग्रेससहित जाने कि नयाँ कांग्रेस लिएर चुनावमा उत्रने भन्ने अन्योल छ । जनताको अगाडि के एजेन्डा लिएर जाने भन्ने पनि स्पष्ट भइसकेको छैन ।’
हालै नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध मोरङको बुढीगंगा गाउँपालिकाका कपिल सुनार भने तोकिएको मितिमा भयरहित र शान्तिपूर्ण ढंगले चुनाव हुनेमा ढुक्क देखिन्छन् । उनी भन्छन्, ‘मुलुकलाई निकास दिन पनि तोकिएको चुनावमा सहभागी हुनेबाहेक दलहरूसँग विकल्प छैन ।’
बुढीगंगा–२ का मतदाता मोहम्मद जाहिर पनि चुनाव भए मतदानका लागि आफू तयार रहेको बताउँछन् । ‘चुनावका लागि मतदाता प्रतीक्षामा छन्,’ उनी भन्छन् ।
एमालेले संसद् पुनःस्थापनाको माग गरेकाे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । पुनःस्थापना नभए निर्वाचनमा सहभागिताको रणनीति एमालेले लिएको देखिन्छ । एमाले विराटनगर महानगरका सचिव सोमराज थापा आफ्नाे पार्टी निर्वाचन विरोधी नभएको स्पष्ट पार्दै भन्छन्, ‘सरकारबाट वातावरण बनेन भने भाग लिन सकिँदैन भन्ने मात्रै हो ।’
थापाका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले नै निर्वाचनको वातावरण बनाउने प्रतिबद्धता जनाइसकेकाले एमाले चुनावबाट नभाग्ने थापाको दाबी छ । ‘वातावरण बनेमा हामी चुनावी मैदानमा उत्रिन्छौं, भाग्दैनौं,’ थापा भन्छन् ।
