मेची राजमार्ग खुलेको गलत सूचनाले यात्रुलाई झनै सास्ती 

मेची राजमार्गको पाँचथर खण्ड खुले पनि इलाम खण्डका ठाँउठाउँमा पहिरो जानुका साथै पुल बगेभत्केका कारण बाटो खुल्ने सम्भावना छैन ।

आश्विन २०, २०८२

लक्ष्मी गौतम

Misinformation about the opening of the Mechi highway has caused more suffering to passengers

What you should know

पाँचथर — सामाजिक सञ्जालमा मेची राजमार्ग खुलेको भन्दै पोस्ट भएका सामग्री हेरेर यात्रा तय गरेका सयौं यात्रु बाटोमा अलपत्र परेका छन् ।

शनिबार राति भएको अविरल वर्षासँगै अवरुद्ध भएको मेची राजमार्ग पूर्ण रुपमा सञ्चालनमा नआए पनि सामाजिक सञ्जाल र केही अनलाइन पोर्टलले प्रकाशन गरेको अधुरो र अपुष्ट खबरका कारण बसिरहेका स्थानदेखि हिँडेका यात्रु अलपत्र परेका हुन् । विशेषगरी यसरी अलपत्र पर्नेहरुमा ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रीसहित केही दसैंमा टीका लगाउन गाउँ आएर कार्यक्षेत्र फर्किंदै गरेकाहरू छन् । 

झापा बुधबारेकी कमला अधिकारीले अपुष्ट सूचनाले अलपत्र परेको बताइन् । 'पाथीभरा दर्शन गरेर फर्किने क्रममा बाटो बन्द भएको थाहा पाएपछि ताप्लेजुङ सदरमुकाममा होटलमा बसिरहेका थियौं,' उनले भनिन्, 'मेची राजमार्ग सञ्चालनमा आएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लेखेपछि यात्रा तय गरे पनि दुईदिनसम्म आधा बाटो पुग्न सकिएन ।'

Misinformation about the opening of the Mechi highway has caused more suffering to passengers

उनका अनुसार अघिल्लो दिन बन्द रहेको मेची राजमार्गको पाँचथरस्थित लालिखर्क र राँके छेउको पहिरो हटाइएलगत्तै मेची राजमार्ग खुलेको हल्ला चलेको थियो । यसरी हल्लाका भरमा यात्रा तय गरेका मध्ये एक सय पचास हाराहारीमा इलाम पाँचथरको सीमावर्ती राँके हुँदै इलामको रक्से पुगेका छन् दुई सय हाराहारी नागरिक पुवाखोला पुगेर अड्किएका छन् ।

हिजो साँझ पुवाखोला पुगेका उनीहरूलाई घरगोठ, गोदाममा व्यवस्थापन गरिएको इलाम नगरपालिका-४ का वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । त्यस क्षेत्रमा खानेपानीको मुहान सबै बगाएकाले खानेपानीको समस्या भएको र बिजुली समेत नहुँदा यात्रुको व्यवस्थापनमा ठूलो समस्या भएको  छ ।

Misinformation about the opening of the Mechi highway has caused more suffering to passengers

मेची राजमार्गको पाँचथर खण्ड खुले पनि इलाम खण्डका ठाँउठाउँमा पहिरो जानुका साथै पुल बगेभत्केका कारण बाटो खुल्ने सम्भावना छैन । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बाटो सञ्चालन गर्न अझै केही दिन लाग्ने भएकाले आधिकारिक सूचना लिएर मात्रै अगाडि बढ्न सुझाव दिएकी छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully