विराटनगर — सामुदायिक विद्यालयका शिक्षकहरूले उठाएका मागप्रति नेकपा एस कोशी प्रदेश कमिटीले ऐक्यबद्धता जनाउँदै सरकारले गम्भीर ध्यान नदिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टीद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, शिक्षाका लागि अत्यन्तै समर्पित रहेका शिक्षकहरू आफ्नो जायज माग पूरा गराउन काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिनु परेको भन्दै सरकारको उदासीनता निन्दनीय भएको जनाइएको छ ।
विज्ञप्तिमा आरोप लगाइएको छ, ‘ओली नेतृत्वको सरकार शिक्षकमाथि दमन गर्दै माग पूरा नगरी सामुदायिक विद्यालय शिक्षालाई ध्वस्त पार्ने खेलमा लागेको देखिन्छ ।’
कोशी प्रदेश कमिटीकी अध्यक्ष सरिता थापा खड्काद्धारा हस्ताक्षरित विज्ञप्तिमा तीन दशकअघिदेखि लागू गरिएको शिक्षासम्बन्धी नीतिले सशक्त शिक्षक नेतृत्वको सट्टा ‘शैक्षिक माफिया’लाई प्रश्रय दिएको र पछिल्लो सरकार पनि सामुदायिक शिक्षालाई पन्छ्याउँदै निजीकरणतर्फ उन्मुख भएको गम्भीर आरोप लगाइएको छ ।
अध्यक्ष थापाले कक्षा ११ र १२ को वार्षिक परीक्षा प्रभावित हुने खतरा रहेको भन्दै तत्कालै शिक्षा ऐन कार्यान्वयन गरी समस्याको समाधान गर्न सरकारसँग माग गरेकी छन् ।
साथै सामुदायिक विद्यालय शिक्षाको दीर्घकालीन सुधारका लागि ठोस पहल गर्न सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।
