आजै पहिरोमा परि मृत्यु हुनेको संख्या ५ पुग्यो
सोलुखुम्बु — सोलु दुधकुण्ड नगरपालिका-९ गोराखानीमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । अपरान्ह आएको पहिरोले घर पुरिँदा स्थानीय तामाङ थरका २ जना र एक जना शेर्पाको मृत्यु भएको हो ।
घटना विकट स्थानमा रहेको र संचार सम्पर्क स्थापित हुन नसकेकाले विवरण संकलनमा कठिनाई भएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए ।
नगर प्रमुख शेर्पाका अनुसार गोराखानीमा तामाङ परिवारका आमा छोरी गरि २ जना र छिमेकी एक जना शेर्पाको ज्यान गएको हो । ‘अहिलेसम्म ३ जना मरेको खबर आएको छ’ नगर प्रमुख शेर्पाले भने, ‘घटनाको थप क्षतिको विवरण संकलन गर्दै छाौ ।’
घटना स्थलमा प्रहरी टोली पुग्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।
योसँगै आज दिनभरिमा जिल्लामा पहिरोका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वडा नम्बर १० टाप्टिङमा आजै एकै घरका छोरी र बुहारीको मृत्यु भएको छ । सो क्षेत्रमा ज्यान गुमाएका ५ जनाकै पोष्ट मार्टमको ब्यवस्था टाप्टिङ अस्पतालमा गरिने नगर प्रमुख शेर्पाले बताए । पोष्टमार्टमकै लागि सदरमुकाम सल्लेरी ल्याउन निकै टाढा र कठिन हुने भएकाले टाप्टिङ अस्पतालमा डाक्टर पठाएर पोष्टमार्टम गराईने मेयर शेर्पाको भनाई छ ।
