रौतहट — अविरल वर्षापछि वाग्मती नदीमा आएको बाढीले बृन्दावन नगरपालिका–१ बलरीखोरमा झण्डै १ सय जना फसेका छन् । ती मध्ये ३५ जनालाई सुरक्षाकर्मिले उद्धार गरेको छ । बिहान ८ बजे देखि उनीहरु बाढीमा फसेका हुन् । झण्डै ८ घण्टादेखि उनीहरु उद्धार पर्खिरहेका छन् ।
बलरीखोरमा रहेको कृषि फर्मका १७ जना कर्मचारीहरु बिहान ८ बजे देखि बाग्मति नदिको बाढीमा फसेको नेपाली कांग्रेसका सासद देवप्रसाद तिमल्सिनाले बताए ।
‘म अहिले फसेकाहरुको उद्धारका लागि बलरीखोर आएको छु । यहाँ हेलिकप्टर बाहेक उद्धारको सम्भव छैन,‘उनलेभने,‘चारैतिर वाग्मती नदीको बाढीले गाउँ घेरिएको छ । यस्तो बेला चाँडो भन्दा चाँडो उद्धारको जरुरी छ ।’
उनले हेलिकप्टरका लागी गृहसचिवसित कुरा गरेको बताए । बलरीमा फसेका मध्ये ३५ जनाको उद्धार सम्भव भएको ईलाका प्रहरी गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए । ‘कति फसेका छन् भन्ने यकिन हुन सकेको छैन,‘उनले भने,‘बाढीका कारण उद्धारमा कठिनाई भएको छ । हामिले सके जतिको उद्धार गरिरहेका छौं ।’
बलरीखोरमा नेपालीसेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले फसेकाहरुलाई उद्धारको प्रयास गरिरहेका छन् । स्थानीय फसेको क्षेत्रमा सांसद, पूर्व नगरप्रमुख, स्थानीय जनप्रतिनिधिहरु पुगेका छन् । लगातारको वर्षाले घर डुबानमा परि बाहिर निस्कन खोज्दा रौतहटमा २ जना घाईते भएका छन् । बाग्मति र लालबकैया नदीमा आएको बाढीले बाँध कटानमा पारेको छ ।
