धनकुटा कांग्रेस: प्रदेससभा (ख) मा राजन पौडेल निर्वाचित

मंसिर ४, २०७८

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्न्तगत धनकुटामा भएको अधिवेशनमा प्रदेससभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन्। २३३ मतसहित देउवा पक्षका उनी विजयी बनेका हुन्।

शनिबार बिहान सम्पन्न मत परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी तिलक महतले १७६ प्राप्त गरेका छन्। प्रदेससभा (ख) मा जम्मा ४३५ मत खसेको थियो। महत पौडेल पक्षको रुपमा चिनिन्छन् ।

प्रदेससभा (ख) मा सभापति, सचिव र सहसचिव पदमा मतदान भएको थियो। समितिको सचिवमा दिलराज घिसिङ र गोपाल राई निर्वाचित भएका छन्। उनीहरूले क्रमश: २२७ र १७० मत प्राप्त गरेका छन्। यस्तै सहसचिव विश्वास पुलामी र मणिराज राई निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १८४ र १७६ मत प्राप्त गरेका छन्।

यस्तै उपसभापति पदमा चन्द्रकुमार लिम्बू र भीमबहादुर खड्का निर्विरोध निर्वाचित भएका थिए। समितिको कोषाध्यक्ष निर्वाचित पदाधिकारीले मनोनित गर्नेछ।

जिल्ला र प्रदेशसभा (क) मा आइतबार र जिल्लाको अधिवेशन सोमबार हुने कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राईले बताए। धनकुटामा प्रदेशसभा ‘क’ को अधिवेशन र जिल्ला अधिवेशन धनकुटा बजारमा हुने भएको छ।

कांग्रेस महाधिवेशन

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully