सुनसरी — गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपालमा ५० वटा पोर्टेबल भेन्टिलेटर पठाएको छ । कोभिड–१९ संक्रमित गम्भीर बिरामीका लागि ती भेन्टिलेटर ट्रस्टले पठाएको हो । भेन्टिलेटरहरू गोर्खा सेमेट्री टस्ट नेपालले तोकिएका विभिन्न अस्पतालहरूमा शुक्रबारदेखि आफैं वितरण गर्न थालेको छ ।
हङकङस्थित सरकारी विद्यालयका शिक्षकसमेत रहेका ट्रस्टका कार्यकारी सदस्य देवराज राईले भने, ‘पहिलो चरणमा हामीले ५० थान पोर्टेबल भेन्टिलेटर नेपाल सरकारलाई पठाइसकेका छौं र वितरण पनि भइरहेको छ ।’ ट्रस्टले नेपालका कोरोना संक्रमितहरूका लागि हङकङमा रहेर अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संघसंस्था, विश्वभरि छरिएर बसेका नेपाली दातासँग सहयोगको आह्वान गरेको थियो । हङकङस्थित ट्रस्टले पहिलो चरणमा १७ हजार अमेरिकी डलरको भेन्टिलेटर खरिद गरेर नेपाल पठाएको हो ।
ट्रस्टका सचिव अमोद राईले पहिलो चरणमा पठाएका अधिकांश भेन्टिलेटर काठमाडौं, पोखरा, दाङलगायत नेपालको पश्चिमी क्षेत्रमा वितरण भइरहेको बताए । उनले भने, ‘जहाँ बढी अभाव देखिएको छ, त्यहाँ पहिले वितरण गर्नेक्रम जारी छ ।’ अमोद पनि हङकङमै शिक्षण पेसामा आबद्ध भएर ट्रस्टमार्फत अन्तर्राष्ट्रिय संघसंस्थासँग सिधा सम्पर्क र समन्वय गरेर नेपालका कोरोना संक्रमितको उपचारका लागि आवश्यक मेडिकल उपकरणको सहयोग जुटाउन व्यस्त छन् ।
