उर्लाबारीका नगर प्रमुख जुटे संक्रमितको शव व्यवस्थापनमा

जेष्ठ १२, २०७८

कान्तिपुर संवाददाता

मोरङ — उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो कोरोना संक्रमितको शव व्यवस्थापनमा आफैं खटिन थालेका छन् । कोरोना संक्रमणले बुधबार मृत्यु भएका उर्लाबारी-२ घर भई तत्कालीन उर्लाबारी गाविसका उपाध्यक्ष ६७ वर्षीय कुमार धिमालको शव व्यवस्थापनमा प्रमुख फागो आफैं खटिएका हुन् । 

२०५४ सालमा उर्लाबारी गाविसमा उपाध्यक्ष निर्वाचित भएका धिमालको कोरोना संक्रमणका कारण झापाको बीएण्डसी अस्पतालमा बुधबार मृत्यु भएको नगर प्रमुख फागोले बताए । 

कोरोना संक्रमणले मृत्यु भएपछि आफन्त पनि टाढा टाढा बस्ने र परिवारका २/४ जना सदस्य मात्रै नजिक बस्ने गरेकाले सामाजिक उत्तरदायित्व सम्झेर आफैं पीपीई लगाएर धिमालको शव व्यवस्थापन गरेको उनले बताए । समाजका अगुवा व्यक्तित्व गुमाएको अवस्थामा परिवारको सदस्यलाई साथ र सहयोगका साथै मनोबल बढाउनुका साथै सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नका लागि शव व्यवस्थापनमा खटेको मेयर फागोको भनाइ छ ।

कोरोना महामारलिे यतिबेला समाजका व्यक्तिहरुमा सामाजिक उत्तरदायित्वको भावना समेत हराएको अवस्था रहेको फागोले बताए । ‘कोरोना संक्रमणले मृत्यु भएका परिवारजनलाई अहिले समवेदना प्रकट गर्नेसम्म पनि कोही नजाने गरेको अवस्था छ,’ प्रमुख फागोले भने, ‘स्वास्थ्यसम्बन्धी सुरक्षात्मक उपाय अपनाएर भए पनि संक्रमितको हौसला बढाउनु पर्ने बेलामा अहिले समाजमा उल्टै हेला गर्ने गरेको अवस्था छ ।’ 

आफैंले संक्रमितको शव व्यवस्थापनमा खट्दा अन्य सर्वसाधारणमा पनि भएको डर त्रास न्यूनीकरण हुने देखिएको उनको भनाइ थियो । 

उर्लाबारी नगरपालिकामा कोरोना संक्रमणले हालसम्ममा १७ जनाको मृत्यु भएको छ । हाल २ सय जना कोरोना संक्रमित आइसोलेसनका साथै होम आइसोलेसनमा रहेको प्रमुख फागोले बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully